क्यूएफएक्समा फर्कियो ‘छड्के २’को पोष्टर


दीपकराज गिरी र उनको टिमले बनाएको फिल्म ‘छक्का पन्जा ४’लाई काखी च्याप्दै नायक अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ नचलाउने निर्णय गरेको देशकै ठूलो चेन क्यूएफएक्सले अन्ततः आफ्नो निर्णय फिर्ता लिएको छ । योसँगै क्यूएफएक्सको वेबसाइटमा ‘छड्के २’को पोस्टर फर्किएको छ । 

‘छड्के २’का वितरक सुनील मानन्धरले जुनसुकै हालतमा पनि फागुन १९ बाट पछि नसर्ने निर्णय गरेपछि क्यूएफएक्स चेनले निर्णय  फिर्ता लिन बाध्य भएको हो ।  ‘छड्के २’कै कारण क्यूएफएक्सले ठूला फिल्म जुधाउन नहुने भन्दै एउटा फिल्म मात्र रिलिज गर्ने निर्णय अचानक गरेको थियो । 

तर, यसको चर्को विरोध भएपछि र वितरक सुनील मानन्धर आफ्नो निर्णयबाट पछि नहटेपछि क्यूएफएक्स आफ्नो अचानक गरिएको  निर्णय सच्याउन वाध्य भएको हो । 

निगम श्रेष्ठ निर्देशित यो फिल्मको हाइप गज्जब छ । अर्कोतिर, ‘छक्का पन्जा ४’सँगको भिडन्तले पनि ‘छड्के २’लाई फाइदा मिलिरहेको छ ।