‘फूलबारी’ ट्रेलर: बाबु–आमा र सन्तानबिचको दुरीको कथा

फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ । जसमा बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर देखाउन खोजिएको छ । ४ मिनेट ९ सेकेन्ड लम्बाईको ट्रेलरले नेपाली समाजको कहानीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन्छ ।

फिल्ममा अभिभावक र सन्तान बीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका छुच्ची बुहारीको रुपमा चित्रित छिन् । समग्रमा एउटा मध्यम वर्गीय  परिवारमा छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो फूलबारी भन्न सकिन्छ।

विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्ममा रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको पनि अभिनय छ ।  

फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।