रिलिज अघि नै 'गान्धी गोडसे एक युद्ध' फिल्ममाथि खतराको बादल मडारिन सुरु

यही जनवरी २६ मा निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोडसे एक युद्ध’ रिलिज हुँदैछ । तर, रिलिज अघि नै फिल्ममाथि खतराको बादल मडारिन सुरु गरिसकेको छ । फिल्म रिलिज नजिकिएपछि फिल्मको प्रमोसनलाई पनि तिब्रता दिइएको छ । तर, त्यही प्रमोसन गर्न निर्माण पक्षलाई तनावको अवस्था छ ।

फिल्मलाई लिएर निर्देशक सन्तोषीलाई फिल्म रिलिज रोक्न मात्र नभई ज्यानको पनि असुरक्षा हुने धम्की आएको छ । सन्तोषीले मुम्बई प्रहरी कमिश्नरलाई पत्र लेख्दै आफूलाई धम्की आएको उल्लेख गरेका छन् । सन्तोषीको उजुरीपछि प्रहरीले एफआईआर दर्ता गरेको छ ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि विवाद सुरु भएको हो । केही दिनअघि मुम्बईको अँधेरीमा फिल्मको प्रदर्शन राखिएको थियो, जहाँ निकै तनावको अवस्था सिर्जना भएको थियो । प्रदर्शनपछिको पत्रकार सम्मेलनमा मिडियातर्फ बसेका केही अज्ञात व्यक्तिले उठेर विरोध गरेका थिए । उनीहरुले कालो झण्डा देखाउँदै ‘गान्धी जिन्दावाद’को नारा लगाएका थिए ।

‘मलाई यो घटनालाई सुरक्षित महसुस भएको छैन । यदी उनीहरूलाई त्यसै छोड्ने हो भने उनीहरुले मेरो परिवारलाई कुनै पनि किसिमको क्षति पुर्‍याउन सक्छन्’, निर्देशक सन्तोषीको पत्रमा उल्लेख छ ।

फिल्मको विरोध गर्नेहरूले फिल्ममा महात्मा गान्धीलाई हेपिएको देखाइएको दाबी गरेका छन् । उनीहरूले गान्धीको हत्यारा नाथुराम गोड्सेलाई महिमा गाइएको आरोप लगाएका छन् ।