फेरि अघि बढ्यो रेखा र पूजाको सहकार्य


नायिका पूजा शर्मा र अर्की नायिका रेखा थापाले केही महिना अगाडि एक साथ फिल्म बनाउने तयारी गरेका थिए । तर, फिल्म बनाउने तयारी हुँदै गर्दा यो प्रोजेक्ट नबन्ने अवस्थामा पुग्यो । 

पूजाले नायक अनमोल केसीसँग नयाँ फिल्म बनाउने तयारी गरिन् । तर, अब फेरि पूजा र रेखाको सहकार्य अगाडि बढ्ने भएको छ । केही दिन यता सामाजिक संजालमा लेखक शिवम् अधिकारी र वितरक करण श्रेष्ठले रेखा र पूजासँगको तस्विर पोष्ट गरिरहेका छन् । 

उनीहरूले फिल्मको बारेमा केही त बताएका छैनन् । तर, स्रोतका अनुसार रेखा र पूजा चैत्र महिनादेखि नयाँ फिल्म बनाउने तयारीमा छन् । यसका लागि कथा लेख्ने काम धमाधम चलिरहेको छ । 

वुझिएअनुसार, उनीहरूले एक चर्चित निर्देशकलाई फिल्मका लागि अफर समेत गरेका छन् ।  फिल्म ३ जना नायिकामाथि केन्द्रित रहने बुझिएको छ । जसमा रेखा र पूजा नै लिड भूमिकामा हुनेछन् । एक नायिका भने फाइनल गरिएको छैन । 

नेपालमा महिला केन्द्रित फिल्म निकै कम बनिरहेको समयमा रेखा र पूजाले यसपटक यही कथामा फिल्म बनाउने तयारी गरेका हुन् ।