दयाहाङ र मिरुना फिचर्ड ‘जारी’को पोस्टर सार्वजनिकसँगै प्रर्दशन मिति घोषणा

दयाहाङ राई र मिरुना मगर फिचर्ड फिल्म ‘जारी’ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई घोषणा गर्दै सोमबार एक पोस्टर सार्वजनिक गरिएको हो ।

सर्वाधिक कमाउन सफल फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाको यो डेब्यु निर्देशकीय फिल्म समेत हो । फिल्मलाई सुब्बा स्वयंले लेखेका हुन् । उनी सिरिजका लेखक समेत हुन् ।

रामबाबु गुरुङ निर्माता रहेको यो फिल्ममा ‘कबड्डी ४’पछि याहाङ र मिरुनाले मुख्य भूमिकामा पुनरागमन गर्न लागेका हुन् । सार्वजनिक पोस्टरले उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको चित्रण गर्छ ।

फिल्मले पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई प्रस्तुत गरेको छ । अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने संघर्षको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगाएतको अभिनय रहेको छ । यो फिल्म पाँचथरका रमणीय स्थानमा छायांकन भएको हो ।

फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।