सफाई पाएपछि पलको अनुहारमा छल्किएको मुस्कान


नायक पल शाहलाई जिल्ला अदालत, तनहुँले मंगलबार सफाई दियो । एक बर्ष अगाडि बलात्कारको मुद्दामा जिल्ला अदालत, तनहुँले नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । तर, बलियो प्रमाण नपुगेको भन्दै पललाई मंगलबार सफाई दिइएको हो । 

अदालतबाट सफाई पाएपछि नायक पल शाह निक्कै खुशी देखिएका थिए । उनले, अदालत परिसरबाट बाहिरिदै गर्दा उनका शुभचिन्तक र केही साथीहरु पनि पुगेका थिए । केही महिलाहरुले पललाई बधाई दिएका थिए । पलले पनि नमस्कार गर्दै अभिवादन गरेका थिए ।

सफाई पाएपछि पल निक्कै खुशी देखिएका थिए । लामो समयपछि उनको मुहारमा यति ठूलो खुशी देखिएको उनका साथीहरु बताउँछन् । पल गाडीमा चढ्नु अगाडि सबैसँग हात मिलाउँदै अगाडि बढेको सार्वजनिक भएको भिडियोमा पनि देख्न सकिन्छ । 

पलले अब जिल्ला अदालत, नवलपुरले सुनाएको साढे २ बर्षको सजायँ विरुद्ध उच्च अदालतमा उनका वकिलले दिएको रिटको फैसला पर्खिनुपर्नेछ । यदि, उच्चले नवलपुरको फैसलालाई बदर गरिदियो भने पल रिहा हुनेछन् ।