‘राधा’पछि सौगात झनै व्यस्त, श्रृष्टी मौन


नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्लले यसै बर्ष बिहे गर्न लागेको खबर सार्वजनिक भएको थियो । उनीहरुले माघ महिनामा बिहे गर्ने चर्चा पनि चलेको हो । तर, उनीहरु अहिले बिहेको खबरबाट टाढा छन् ।

लामो समयदेखि एकसाथ बस्दै आएको यो जोडीले भदौमा रिलिज भएको फिल्म ‘राधा’ निर्माण गरेको थियो । तर, यो फिल्म नचलेपछि श्रृष्टीलाई धक्का लाग्यो । श्रृष्टीको अभिनयको भने खुबै चर्चा भयो । 

यो फिल्म नचलेपनि ‘कबड्डी ४ र २ नम्बरी’ले सौगातलाई व्यस्त बनाइदिएको छ । सौगातको हातमा फिल्मको कुनै अभाव नै छैन । सौगातले ‘भष्मे डन, हात्तीछापदेखि भगवत् गीता’ लगायतका फिल्ममा काम गर्ने पक्का भैसकेको छ । फिल्मको कुनै अभाव नभएका सौगात अझै २ बर्ष नयाँ फिल्म साइन नगरेपनि व्यस्त हुनेछन् । 

तर, सौगात व्यस्त हुँदै गर्दा श्रृष्टीको हातमा भने फिल्म छैन । श्रृष्टीले नयाँ फिल्म साइन गरेको कुनै खबर सार्वजनिक भएको छैन । बिहेको तयारीमा लागेर हो या अरु कुनै कारणले गर्दा, श्रृष्टी मौन छिन् ।