‘तिम्रो मेरो साथ’ रिलिजपछि साम्राज्ञीको अव्यवसायिकता झल्केको हो ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आइतबार आयोजित फिल्म ‘तिम्रो मेरो साथ’को विशेष शोमा उपस्थित थिइनन् ।  फिल्म रिलिज अगाडि प्रचारमा राम्रै समय दिएकी साम्राज्ञी चलेको दिनदेखि हराइन् । बरु, उनी शनिबारदेखि फिल्म ‘ह्यारी कि प्यारी’को प्रचारमा मोफसल दौडमा छिन् । 

‘तिम्रो मेरो साथ’ टिमले फिल्म चलेको दिनबाट नायिकाको साथ पाएको छैन । बरु, नायक पुष्प खड्का विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् । 

फिल्म चलेको दिनदेखि नै छाडेर अर्को फिल्मको प्रचारमा लागेपछि साम्राज्ञीको आलोचना पनि भइरहेको छ । किनकी, यसमा साम्राज्ञीको व्यावसायिकता झल्किएको देखिएन । 
यसमा निर्देशक रमेश एम के पौडेलले घुमाउरो तरिकाले असन्तुष्टि पनि जनाएका छन् । 

साम्राज्ञीले कमसेकम फिल्म चलेको २ दिनसम्म आफ्नो प्रोजेक्टलाई साथ दिनुपर्ने हो । तर, फिल्म चलेको दिनदेखि नै अर्को फिल्मको प्रचारमा लाग्दा दर्शक नै झुक्किने अवस्था आउँछ । यो विषयमा साम्राज्ञीले नबुझेकी हुन् या शुक्रबार नै दर्शक नआएपछि उनले आलोचना टार्न नयाँ फिल्मको साथ खोजेकी हुन्, त्यो उनले नै बुझ्ने कुरा हो ।