एक साथ हिट फिल्म दिएका आँचल र केकी नयाँ बर्षमा भिड्दै


यो वर्ष ज्ञानेन्द्र देउजाले नायिकाद्धय केकी अधिकारी र आँचल शर्मालाई ठूलो राहत दिए । असफल फिल्मले हैरान भएका यी दुई नायिकालाई ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ’ले लामो श्वास फेर्ने बनाइदियो । जे भएपनि यो बर्षको हिट फिल्म र हिट कलाकारको सूचीमा आँचल र केकी पर्ने निश्चित छ । 

तर, यी दुई नायिका आउँदो बर्षको पहिलो दिनमै बक्स अफिसमा एक अर्कासँग भिडन्त गर्ने दौडमा छन् ।  फिल्म रिलिजको क्यालेन्डरलाई हेर्ने हो भने, नयाँ बर्षमा नायिका केकी अधिकारी र नायक विपिन कार्की अभिनित फिल्म ‘प्रसाद २’ आउने निश्चित भैसकेको छ ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन बस्नेत निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुवास थापा हुन् । 

यही मितिमा विकासराज आचार्यको हिट सिरिज ‘नाई नभन्नु ल’को छैटौं सिरिज पनि रिलिज हुँदैछ । यो फिल्ममा नायिका आँचल शर्मा मुख्य भूमिकामा छिन् । 

यी दुबै फिल्मका अघिल्लो सिरिज दर्शकले रुचाएका थिए । यसकारण पनि बक्स अफिसमा दुबै फिल्म प्रतिक्षित छन् । तर, आँचल र केकी भने यो बर्ष एकसाथ हिट फिल्म दिएर खुशी थिए । आउँदो बर्षको पहिलो दिनमै यी दुइको बक्स अफिसमा भिडन्त हुनेछ ।