यति एयरलाइन्सको जहाज दुर्घटनामा गायिका छन्त्याल र गिटारिस्ट आचार्यको निधन

आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहोरी गायिका परेकी छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको पनि निधन भएको हो । उनी आज दुर्घटना ग्रस्त भएको यती एयरलाइन्स ६१९ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् ।

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रमका लागि काठमाडौंबाट पोखरा प्रस्थान गरेका उनको दुर्घटनामा निधन भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेकी हुन् । गायिका छन्त्याल आइतबार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएकी थिइन् ।

२२ बर्षिया नीरा ‘लाइभ दोहोरी’ मा चर्चित थिइन् । उनका लाइभ दोहोरीहरु निक्कै चर्चित छन् । उनी पाँच वर्षयता लोक तथा दोहोरी गायनमा सक्रिय थिइन् ।

उनले शनिबार काठमाडौंमा समेत साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । काठमाडौंको कार्यक्रमका तस्विर राख्दै उनले लेखेकी थिइन् ‘अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ बागलुङकी उनले स्वर दिएका केही लोकदोहोरी गीतहरू स्रोता दर्शकहरूले रुचाएका छन् । यस वर्ष तीजमा समेत उनले नयाँ गीत ल्याएकी थिइन् ।

नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीले कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि, उनी चढेको विमान दुर्घटनामा परेको खबरसँग कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुर्घटनामा ज्यान गुमाएकी गायिका छन्त्यालको निधनमा सोमबार देशैभर शोक मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानकी सदस्य समेत रहेकी निराको निधनमा सोमबार केन्द्र, प्रदेश र देशभरका सबै शाखामा शोक मनाउँदै देशैभरका लोकदोहोरी साँझहरु बन्द गर्ने निर्णय प्रतिष्ठानको आकस्मिक बैठकले गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतिको हिसाबले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरूमा सुन्दर प्रस्तुति दिएर सबैको मन जित्न सफल छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

गिटारिष्ट आचार्यको पनि निधन

युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका छन् ।

निशान्तलाई श्रद्धाञ्जली दिंदै रक गायक तामाङ लेख्छन्, ‘विमान दुर्घटनामा आफ्नो प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा सहानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’

मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै ब्याण्डले सुरक्षा लापरवाहीको कारण उनको निधन भएको जनाएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । चालक दलका ४ जनासहित कुल ७२ जना सवार विमान आज बिहान पोखरास्थित सेती नदीको खोँचमा खसेको हो ।