पाँच तारेमा घोषणा भएका अधिकांश फिल्म बनेनन्, कारण के ?
नायिका एलिजा गौतम र नव–नायक कुन्साङ बोमजमलाई गुलाबको फूल नै ओछ्याएर पाँच तारे होटल एभरेष्टमा फिल्म ‘घुइचो’को भव्य घोषणा भयो । फिल्मको भव्य घोषणा समारोहमा नेपालदेखि अमेरिकासम्म छायांकन हुने बताइयो । एलिजा हट पहिरनमा कार्यक्रममा उपस्थित भएकी थिइन् । तर, यो फिल्म अब नबन्ने निश्चित जस्तै छ ।
यही होटलमा फिल्म ‘न्यू इयर’को पनि घोषणा भयो । बेनिशा हमाल र अनुप विक्रम शाहीलाई मुख्य भूमिकामा राखेर फिल्मको तामझामपूर्ण घोषणा गरियो । प्रविण श्रेष्ठको निर्देशनमा गृहेन्द्र घिमिरे निर्माता रहेको फिल्म पनि घोषणामै सीमित भयो बनेन ।
पाँच तारेमा तामझामपूर्ण रुपमा घोषणा भएका फिल्मको सूची लामो छ । होटल एभरेष्टमै शोभित बस्नेतको निर्देशनमा बन्ने भनिएको एक साउथ फिल्मको पनि भव्य रुपमा घोषणा भएको थियो । यही होटलमा नायिका आँचल शर्माको अभिनय रहने र मिलन चाम्स निर्देशक रहेको फिल्म ‘वर एन्ड बधु’को पनि भव्य घोषणा भयो । यो फिल्मको छायांकन रोमानियामा त भयो । तर, नेपालमा बाँकी छायांकन अझै हुन सकेको छैन ।
पाँच तारे होटलमा महँगो रकम खर्च गरेर फिल्म घोषणा गर्ने परिपाटी नयाँ त होइन । तर, संयोग भन्ने या वास्तविकता, पाँच तारेमा घोषणा भएका अधिकांश फिल्म बनेका छैनन् ।
अन्नपूर्ण होटलमा घोषणा भएको फिल्म ‘रानी महल’ बनेन । यो फिल्मका लागि निर्माताले २ करोड सके । तर, फिल्मको छायांकन २० प्रतिशत मात्र भयो ।
यही होटलमा फिल्म ‘कस्मिक लभ’को पनि भव्य रुपमा घोषणा भयो । कलाकारद्वय प्रशान्त ताम्राकार र दीया मास्केको एउटा गीतको छायांकन गरेर सार्वजनिक पनि गरियो । तर, फिल्म पुरा हुन सकेन ।
फिल्म क्षेत्र ग्ल्यामरको ठाउँ हो । जसलाई सो बीजको स्थान पनि भनिन्छ । यसैले, यहाँ तामझाम ठूलो कुरा होइन । तर, तामझाम सुरुवातमा गर्ने र बिस्तारै सेलाउँदै जाने परिपाटी लामो समयदेखि चल्दै आएको छ ।
कतिपय त भन्छन्, पाँच तारेमा कार्यक्रम घोषणा गरेर निर्देशकहरू भव्यता देखाउन चाहन्छन् तर पछि त्यो निरन्तर जान सक्दैन । कतिपय त निर्माता भाग्छन् भनेर हतारमा पाँच तारेको रवाफ त देखाउँछन् तर हतारमा घोषणा गरेर फुर्सदमा पछुताउँछन् ।
खैर जे होस्, पाँच तारेमा घोषणा भएका फिल्मको इतिहास राम्रो देखिएको छैन ।
प्रतिक्रिया