सकियो ‘प्रसाद २’को छायांकन, नयाँ बर्षलाई रिलिज मिति  घोषणा


नायक विपिन कार्की र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद २’को छायांकन ३१ दिनमा सकिएको छ । फिल्मको सम्पूर्ण छायांकन कास्कीको माछापुछ्रे गाउँपालिकाका विभिन्न स्थानमा गरिएको छ । 

फिल्मको छायांकन सकिएको दिन नै निर्माणपक्षले यसको प्रदर्शन मिति समेत घोषणा गरेको छ । फिल्मलाई वि.सं २०८० सालको बैशाख १ गतेबाट रिलिज गर्ने पक्का गरिएको कार्यकारी निर्माता सुवास थापाले जानकारी दिए । नयाँ बर्षमा दर्शकले एउटा फरक कथाको प्रतिक्षित फिल्म हेर्न पाउने थापाको भनाई छ । 

फिल्मको निर्देशन सुदर्शन थापाले गरेका हुन् । सुदर्शनले फिल्मका सम्पूर्र्ण यूनिटको सहयोगका कारण ३१ दिनमा छायांकन सकिएको जानकारी दिए । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ । यो फिल्ममा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ । 

फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । उत्तम न्यौपानेको ध्वनी रहेको फिल्मको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् । 

‘प्रसाद’लाई निक्कै माया गरेका दर्शकले ‘प्रसाद २’बाट अझै फरक स्वाद पाउने र निराश नहुने दाबी निर्देशक थापाको छ ।