'आकाशको फल आँखा तरी मर' भने जस्तै भयो ‘गुञ्जन’ टिमलाई !

फिल्म ‘गुञ्जन’ शुक्रबारबाट हलमा प्रदर्शन थालेको छ । तर, पछिल्लो समय रिलिज फिल्मको नियति दोहोर्याउँदै यो फिल्ममा पनि दर्शकको खडेरी लागेको छ । २ करोड बढी लगानीको यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्न असम्भव देखिएको छ । 

अष्ट महर्जनको निर्देशनमा तयार भएको लभ स्टोरी फिल्ममा कबिर खड्का, सारा सिर्पाली, प्रितम राज सेञ्चुरी लगायतका कलाकार छन् । कविर र साराले दुई तीन वटा फिल्म खेलिसकेका छन् भने प्रितमले यही फिल्मबाट डेब्यू गरेका हुन् । यो फिल्मबाट निर्देशक महर्जनलाई नै निकै आस थियो । तर के गर्नु ’आकाशको फल आँखा तरी मर भने’ जस्तै बाहेक अरू हुन सक्ने स्थिति छैन । किन भने द्वन्द्व निर्देशकका रूपमा दुई दशक देखि सक्रिय रहेका महर्जनले ‘गुञ्जन’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म निर्देशकलाई एक हिसाबले चलोस् भन्ने चाहन्थे ।

फिल्म रिलिज हुनु अघि चर्चा होस् भन्नकै लागि पनि दुई–दुई पटक सम्म पत्रकारसम्मेलको आयोजना गरी गरी एउटा मात्र ट्रेलर नभएर अर्को ट्रेलर पनि सार्वजनिक गरियो । निर्देशक महर्जनले फिल्मलाई उत्कृष्ट बनाउने कोसिस गरेको भन्दै दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए । यति मात्र नभएर फिल्मका निर्माताले धरी फिल्मको कथावस्तु मन परेन भने दर्शकको टिकटको पैसा फिर्ता गर्ने घोषणा गरे ।  उनले भनेका थिए – “फिल्म मन परेन भने दर्शकले मेरो नम्बरमा फोन गर्न सक्नुहुन्छ । म मन नपर्नुको केही कारण पक्कै पनि सोध्नेछु । त्यसपछि दर्शकले काटेको टिकटको सबै पैसा फिर्ता गर्नेछु ।” फिल्मप्रति उनीहरू पूर्ण रूपमा आत्मविश्वासी देखिएता पनि, दर्शकले भने उनीहरुको बोलीलाई विश्वास गरेनन् । फिल्मले पहिलो दिन नै दर्शकलाई हलतिर डोर्याउन सकेन ।

यो फिल्म लिएर अभिनेता कबिर  पनि निकै आशावादी थिए । तर यो फिल्मले पनि उनले करिअर सुरुवात गरेको लम्फूकै हाल भोग्ने लक्षण देखाएको छ ।  गुञ्जनले उनलाई कलाकारको रूपमा दर्शक माझ परिचित गराउने सपना पनि देखेका थिए । यो फिल्ममा उनले नेगेटिभ भूमिका निभाएका थिए । 

अर्कोतर्फ यस फिल्मकी अभिनेत्री सारा पनि एउटा हिटको सपना यो फिल्मले पूरा गर्न सक्छ कि भन्नेमा आशावादी थिइन् । नेपाली फिल्म क्षेत्रमा सफलताको झण्डा गाड्न नसकेर दुबई पुगेकी उनलाई यो फिल्मको सुरुवातले फर्काउन अपेक्षा गर्न सकिन्न । हुन त यो फिल्म चल्दैन भनेर नै होला उनी दुबईमा निक्कै आकर्षक जागिर पाएपछि त्यतै काम गर्न थालेकी थिइन् । साराले आफूले गरेका फिल्म सबै नचलेपछि यस्तो नयाँ यात्राको विकल्प खोजेकी हुन् भन्दा फरक नपर्ने देखिन्छ ।

शुक्रबार सोमा फिल्म हेर्ने दर्शकले यसलाई राम्रै मानेका थिए । तर जतिले राम्रो माने त्यसको संख्या अति नै कम छ । एकातिर हिरोइन प्रचारमा नहुनु र निर्माताले पनि प्रचार प्रसारमा ध्यान नदिँदा फिल्मको ठन्डा सुरुवातको कारण हो भन्ने टिप्पणी सुनिन थालेको छ ।