फ्राइडे रिलिज: ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ भिड्दै

आज शुक्रबारबाट २ नयाँ फिल्म रिलिज भएका छन् ।

माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दुई नेपाली फिल्ममा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ आजबाट रिलिज भएका हुन् । केही समययता सातामा एकमात्र नेपाली फिल्म प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता रमेश एम के पौडेल निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ र अष्ट महर्जनको निर्देशनमा तयार भएको लभस्टोरी फिल्म ‘गुञ्जन’ प्रदर्शन भइरहेका हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको प्रेमकथामा आधारित फिल्म ‘तिम्रो मेरो साथ’ ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेसँगै कलाकार र निर्देशक पौडेलले उत्साहित देखिएका छन् ।

“प्रेमकथालाई दर्शकले रूचाएका छन्, निर्माताका रूपमा अन्य फिल्ममा आवद्ध भए पनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उनले भने । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त फिल्ममा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल, योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । 

यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहेका अष्टमान महर्जनले ‘गुञ्जन’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका छन् । “मैले द्वन्द्वप्रधान फिल्म बनाउने अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दैगर्दा मैले राम्रो कथालाई रोजेको हुँ”, उनले भने । 

हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त फिल्ममा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गरेका छन् । फिल्म गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।