कलाकारहरुको हुन नसकेको कलाकार संघ
नेपाल चलचित्र कलाकार संघको आगामी नेतृत्वका लागि अध्यक्षदेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेको होडबाजी नै छ । कलाकार संघको अध्यक्ष पदका लागि नायिका रेजिना उप्रेतीदेखि नायक सविन श्रेष्ठ, कलाकार मोहन निरौला, निर्माता तथा कलाकार सुशान्त कुमार श्रेष्ठ, अहिलेका अध्यक्ष रवीन्द्र खड्का लगायतको दौडधूप चलिरहेको छ ।
कलाकार संघको निर्वाचन कलाकारहरूको मात्र हुँदैन । कुनै न कुनै रुपमा कलाकार संघको निर्वाचनमा राजनीति हाबी हुने गरेको छ । यो बिस्तारै देखिँदै जाने पनि छ ।
तर, कलाकार संघ कहिले पनि कलाकारहरूको हुन सकेन । अझ, रवीन्द्र खड्काको अध्यक्षतामा कलाकार संघ आएपछि त उनी सामाजिक संजालमा स्टाटस कोर्न, बधाई दिनमा बढी व्यस्त देखिए । कलाकार संघले कुनै पनि समयमा आफूलाई अडिलो रुपमा प्रस्तुत गर्न सकेन ।
यसैले, अन्य संघसंस्था जस्तै कलाकार संघ चुनावको समयमा तात्ने र अरू बेलामा सुस्ताउने कमजोर संस्था बनिरहेको छ ।
नयाँ नेतृत्वलाई कलाकार संघलाई बुलन्द बनाएर लैजाने चुनौती छ । अर्कातिर, कलाकारहरूले पनि यो संघलाई आफ्नो महशुश गरेको देखिँदैन । चुनाबमा भोट हाल्न आउनु बाहेक अरू समयमा आम कलाकार कलाकार संघसँग खास जोडिएको पाइँदैन ।
कलाकार संघले गर्ने विभिन्न कार्यक्रममा कलाकारहरूको निकै नै फितलो उपस्थितिले पनि यो कुराको बयान गर्दछ । यसैले, कलाकार संघको काम कार्ड वितरण गर्ने, कलाकार भएको प्रमाणपत्र दिने मात्रामा सीमित भयो भने अर्थ रहँदैन ।
प्रतिक्रिया