‘छ माया छपक्कै र २ नम्बरी’ले दीपेन्द्रलाई व्यस्त बनायो

फिल्मी समीक्षा गर्दै निर्देशक बनेका दीपेन्द्र लामाको व्यस्तता खुबै बढेको छ । दीपेन्द्र लामाको फिल्म निर्देशनमा छलाङ्ग पनि गज्जबकै देखिएको छ । उनले, ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । उनै, निर्देशकको व्यस्तता यसरी बढेको छ कि, उनी एकपछि अर्को फिल्म साइन गरिरहेका छन् ।

उनले, केही दिन अगाडि मात्र फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने पक्का भएको थियो । फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

यो फिल्म लगतै दीपेन्द्रले अर्को अनटाइटल प्रोजेक्ट पनि साइन गरेका छन् । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्माण हुने नयाँ फिल्मका लागि कार्यकारी निर्माता हरि मल्ल ठकुरी र निर्देशक लामाबिच संझौता भएको छ ।

मल्लले यसअघि फिल्म ‘लाखे’ निर्माण गरेका थिए । जीएम ठकुरी निर्माता र समीर घले सह–निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।