कलाकार संघको अध्यक्ष बन्ने दौडमा अभिनेत्री रेजिना पनि निस्किइन्
नेपाली कलाकारहरूको छाता संस्था चलचित्र कलाकार संघको आगामी चैत ४ गते १९औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचन हुने तयारी छ । यति बेला भने संघको अध्यक्ष पदका आकाङ्क्षीहरूको सङ्ख्या बढ्दै गएको छ ।
निर्वाचन हुन झण्डै दुई महिना बाँकी छँदा सामाजिक सञ्जाल फेसबुकमार्फत धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । अहिलेसम्म वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला र सदस्य सबिन श्रेष्ठ आकांक्षी थिए भने यति बेला अभिनेत्री रेजिना उप्रेती पनि उम्मेदवारीको यो दौडमा निस्किएकी छिन् ।
अभिनेत्री रेजिनाले आफू पनि अध्यक्षको उम्मेदवार हो भन्न सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेकी छन् । उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् । रेजिनाले पनि अरूले जस्तै फेसबुकबाटै आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेण्डा अघि सारेकी छिन् ।
फिल्म क्षेत्रमा आफ्नो २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।
उनीहरूको उम्मेदवारी घोषणा कतिको सफल हुनेछन् भन्ने कुरा निर्वाचनको दिनले नै निर्धारण गर्नेछ ।
प्रतिक्रिया