प्रियंकालाई ‘भूत’ अवतारमा दर्शकले पत्याएनन्

नायिका प्रियंका कार्कीले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनिन् । अर्थात, उनले भूतको भूमिकामा एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । उनले, केही बर्ष पहिले भूतकै भूमिकामा काम गरेको फिल्म थियो ‘माला’ । यो फिल्मले समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । तर, बक्स अफिसमा फिल्मले पानी भन्न पाएन । अर्थात, त्यो समयमा पनि प्रियंकालाई दर्शकले भूत बनेको पत्याएनन् ।

उनै, प्रियंकाको नयाँ फिल्म ‘चि मुसी चि’ शुक्रबारदेखि हलमा लागेको थियो । फिल्मको प्रचारका लागि प्रियंका खुलेरै लागेकी थिइन् । तर, यो फिल्ममा पनि दर्शकले उनलाई पत्याएनन् ।

यो फिल्मको तीन दिने व्यापार हेर्ने हो भने कमजोर छ । समीक्षागत रुपमा राम्रै प्रतिक्रिया पाएको फिल्म हेर्न हलसम्म जाने चेष्टा निक्कै कम दर्शकले गरेका छन् ।

प्रियंकाले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनेपनि उनलाई दर्शकले पनि यो अवतारमा रुचाएका छैनन् । आमा बनेपछि फिल्म क्षेत्रमा व्यस्त बनिरहेकी प्रियंकाको यो बर्ष ‘लक्क जवान’ नामक फिल्म पनि चलेन । उनको अब आशा फागुण ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फूलबारी’माथि अडिएको छ ।