एकातिर अवार्डको तयारी, अर्कोतिर नेफ्टाको कार्यलयमा ताला लगाउने चेतावनी
आगामी जेठ १३ गते अर्थात मे २७ मा अमेरिकाको टेक्ससमा ११ औं नेफ्टा फिल्म अवार्ड आयोजना हुँदैछ । अवार्डको तयारीका लागि अमेरिकाबाट २ सदस्य नेपाल आइपुगेका छन् । नेपाली फिल्मको बजार अमेरिकासम्म अझै बलियो रुपमा पुर्याउने उद्देश्यले नेपाल चलचित्र प्राविविधक संघसँग मिलेर यूएसखबर, फेम नेपाल, आर्यना फिल्मस्ले मिलेर अवार्डको आयोजना गर्न लागेका हुन् ।
अवार्डको तयारीका लागि यूएस खबरका ओम आचार्य र फेम नेपालका विमल पछाई शनिबार नेपाल आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलमा नेफ्टाका अध्यक्ष पुष्कर लामाले स्वागत गरे ।
उनीहरुले, नेफ्टा अवार्डको तयारीका लागि काम सुरु गरिसकेका छन् ।
नेफ्टामा ताला लगाउने तयारी
एकातिर, नेफ्टाले अवार्डको तयारी गरिरहँदा नेपालमा भने संस्थाको नविकरण नभएको र वैधानिक रुपमा संस्था नचलेको भन्दै विरोध सुरु भएको छ । संस्थाका साधारण सदस्यहरुले संस्थामा आज बिहान ११ बजे ताला लगाउने तयारी गरेका छन् ।
अध्यक्ष पुष्कर लामा र उनको टिमले संघको नविकरण नगरेको, लामो समयदेखि साधारण सभा नगरेको, संस्थाको आयब्याय समेत व्यवस्थित नगरेको र लामो समयदेखि संस्थालाई अबैधानिक रुपमा चलाएको भन्दै संघमा तालाबन्दी गर्न लागिएको सदस्य शंकर पाण्डेले जानकारी दिए ।
यता, संस्थाका अर्का सदस्य अनन्त तिमिल्सिनाले मेरो फिल्मसँग भने–‘हामीले अवार्डको विरोध गरेका होइनौं । अमेरिकाबाट आउनुभएको टोलीलाई हामीले अवार्डको तयारी ढुक्क भएर अगाडि बढाउन आग्रह पनि गरिसकेका छौं । तर, कानुनी रुपमा नविकरण नै नभएको संस्थाले कसरी काम गर्न सक्छ ? यसैले, संस्थाको आन्तरिक कामकारवाहीलाई लिएर हामीले बिरोध सुरु गरेका हौं ।’
उनले अगाडि भने–‘अमेरिकाको टिमसँग नै अब आउने नयाँ कार्यसमितीले अवार्डको आयोजना गर्नेछ । तर, अबैधानिक रुपमा संस्था अगाडि बढाउन पाइदैन ।’
बिहान १० बजे अनामनगरमा भेला भएको टिम संघको कार्यलय बबरमहल पुग्नेछ । ११ बजेसम्म सूचना प्रकाशित गरेर संस्थाको साधारण सभा आह्वान गरिएन भने ताला लगाउने अनन्तले बताए ।
प्रतिक्रिया