निर्देशक नबल नेपालको ‘चौतारी’: आवेग, नियति र अभिभावकको सन्देश

निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु फिल्म ‘चौतारी’ युट्युबमा सार्वजनिक भएको छ ।

ओ. एस. आर डिजिटलबाट सार्वजनिक चौतारीमा एकल महिलालाई नयाँ जीवनको सुरुवात गर्न पाउने हक छ भन्ने सन्देश फिल्मले दिएको छ। यस्तै, युवा उमेरमा हुने आकर्षण, प्रेम र धोकाका किस्सालाई भिडियोमा अर्थपूर्ण रूपमा देखाउने प्रयास पनि गरिएको छ ।

पन्ध्र मिनेट एकाउन्न सेकेन्ड अवधिको उक्त लघु फिल्ममा अभिभावक तथा सन्तान दुवैतर्फको जिम्मेवारीलाई अदृश्य ढङ्गले व्यक्त गरिएको छ । छोरीको जीवन बचाउन लागि परेकि आमा र उनका साथीलाई छोरीले नै गलत सोच्दाको स्थिती र उमेरले उत्पन्न गर्ने आवेगपछिको नियति साथै सन्तानको भविष्यका लागि अभिभावकले गरेको त्यागलाई पनि भिडियोमा देख्न पाइन्छ ।

यस फिल्मको लेखन दिनेश न्यौपाने र निर्देशक नेपाल स्वयंको रहेको छ । आमा छोरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा हरि ढकाल र गीता ढकालले  निर्माण गरेका हुन् । मदन काश्यप घिमिरेको छायांकन रहेको फिल्ममा नविन निरौलाको सम्पादन छ ।

‘चौतारी’मा वसन्त भट्ट,  मिना ढकाल, विकास लामिछाने र सिम्रन खड्काको  अभिनय रहेको छ, भने प्रिया न्यौपानेको अतिथि भूमिका रहेको छ ।