‘डिसेम्बर फल्स’ नचलेपनि के उपासनाले पारिश्रमिक बढाएकी हुन् ?

नेपाली कलाकारको पारिश्रमिक बजारमा एउटा र कागजमा अर्को हुन्छ । बजारमा आफूलाई महंगो देखाउनका लागि कलाकारले चर्को पारिश्रमिक लिएको हल्ला त फिजाउँछन्, तर के साच्चिकै हातमा पनि उनीहरुको हल्ला गरे जस्तै पारिश्रमिक पर्छ त ?

पक्कै पनि होइन । हल्ला एउटा र सत्य अर्कै हुन्छ । यसैले, कलाकारले लिएको पारिश्रमिकको हल्लाले उनीहरुलाई महंगो त बनाउला तर सफल बनाउँदैन ।

विगत केही दिनदेखि नायिकाहरुको चर्को पारिश्रमिकको चर्चा छ । यसमा नायिका उपासना सिंह ठकुरीको पनि पारिश्रमिक बढेको चर्चा व्यापक छ । उनले, १० लाख भन्दा माथि पारिश्रमिक लिने डिमाण्ड गर्न थालेको चर्चा पनि चलेको छ ।

उपासनाले फिल्म ‘डिसेम्बर फल्स’का लागि ९ लाख पारिश्रमिक लिएकी थिइन् । तर, फिल्मले नेपाली बक्स अफिसमा पानी भन्न पाएन । बरु, उनले ५ लाख हारहारीमा काम गरेको फिल्म ‘२ नम्बरी’ले निर्माता किरण नेपालीलाई मालामाल बनाइदियो ।

उपासनाले उनै किरणको नयाँ फिल्म ‘हात्तीछाप’ पनि साइन गरिसकेकी छिन् । सुरुमा उनले चर्को पारिश्रमिक मागेको बताइन्छ । तर, किरणले उपासनालाई ‘२ नम्बरी’मा भन्दा बढी पारिश्रमिक ‘हात्तीछाप’मा दिएका छन् । उपासना र किरण दुबैले पारिश्रमिकमा सहमती गरेपछि उनी फिल्ममा अनुबन्धित भएकी हुन् ।

जेहोस्, उपासनाले राम्रो पारिश्रमिक फिल्ममा पाएकी छिन् । तर, बजारमा हल्ला गरे जस्तो भने होइन ।