आर्यनका लागि ‘लक्की’ बन्न सकिनन् उपासना

‘महापुरुष’ पछि नेपाली फिल्मप्रति दर्शकको चाहा घटेको छ । कार्तिक ११ गते रिलिज भएको यो फिल्मले ५१ दिनको स्वाद चाख्दा यसपछि रिलिज भएका फिल्मले आफूलाई हलमा २ दिन पनि टिकाउन सकिरहेका छैनन् । यसले, चिसो मौसममा बक्स अफिस पनि चिसिन पुगेको छ ।

निर्माताले फिल्म उत्कृष्ट बनेको दाबी गरेतापनि दर्शकले हरेक फिल्ममाथि पानी खन्याइदिएका छन् । जसलेगर्दा, निर्माताका लाखौं रकम डुबिरहेका छन् ।

शुक्रबारदेखि रिलिजमा आएको प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’को व्यापार पनि सुखद बन्न सकेन । रिलिजको पाँच दिनसम्म पनि हलमा दर्शकको चाप उल्लेख्य छैन । जसकाकारण, फिल्मको बक्स अफिस कलेक्शन सुखद हुन सकेन ।
निर्माता रामप्रसाद रिजालले यो फिल्म पनि चलेन भने अब फिल्म नै नबनाउने बताएका थिए । तर, उनले ‘डिसेम्बर फल्स’कै अन्तिममा ‘डिसेम्बर फल्स २’ बनाउने संकेत दिइसकेका छन् ।

फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका थियो । यसअघिका ३ फिल्म सुपरहिट भएपछि उपासनालाई नेपाली फिल्मकी लक्की नायिका भनिन्थ्यो । तर, यो फिल्मले बक्स अफिसमा चमकदार व्यापार नगर्दा उपासना नायक आर्यन सिग्देलका लागि लक्की बन्न सकिनन् ।

आर्यनले यो फिल्मका लागि निक्कै मिहिनेत गरेका थिए । फिल्मको प्रचारमा पनि उनको खटाई गज्जब थियो । तर, दर्शकले फिल्मप्रति मोह नदेखाउँदा आर्यनको मिहिनेतले पनि काम गर्न सकेन ।