विजय लामा भन्छन् – ‘अन्तिम संस्कार’लाई मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’
। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर फिल्ममा काम गरेको र एउटा उत्कृष्ट फिल्म बनेको उनले बताए ।
आफूले हरेक फिल्ममा केही फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’मा त्यो कुरा पाएपछि काम गरेको अभिनेता लामाले बताए । ‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको फिल्ममा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’ निर्माताले पनि ठूलो चुनौती मोलेर फिल्म निर्माण गरेको उनको भनाई छ ।
‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशपपश्चात मात्रै फिल्म छायाँकनमा गएको थियो । फिल्मका लागि अभिनेता लामाले २० केजी तौल घटाएको स्मरण गरे ।
हिमाल पारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा फिल्मको छायाँकन गरिएको थियो । दिनको १८ देखि २१ घण्टासम्म खटिएर फिल्मको छायाँकन गरिएको समेत अभिनेता लामाले स्मरण गरे ।
अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ फिल्म साइन गरेका थिए । सोहीकारण आफ्नो लागि यस फिल्म भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाई छ । ‘मलाई बुवाले नै फिल्म क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई फिल्म दिएर जानुभयो ।
लामा भन्छन् – ‘अन्तिम संस्कार’लाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’ ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिसयूज’को कथालाई फिल्ममा समावेश गरिएको छ ।
फिल्ममा अभिनेता लामालाई धेरैवटा क्यारेक्टरमा पाउन सकिन्छ । ‘यो फिल्मत्र हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’
फिल्ममा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको शीर्ष अभिनय छ । साथमा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि अभिनय छ ।
फिल्म विभिन्न अन्तराष्ट्रिय अवार्डमा समेत जाने विश्वास अभिनेता लामाले लिएका छन् । यस फिल्ममार्फत विश्व रेकर्ड राख्ने कुनै कार्य गर्ने योजना रहेको पनि लामाले बताए । बाबु श्रेष्ठको छायाँकन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।
प्रतिक्रिया