पुष्प र साम्राज्ञीलाई गाह्रो छ

निर्देशक रमेश एम के पौडेलसँग एक साता लामो मोफसल टुर सकेर काठमाडौं फर्किएका नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब काठमाडौं केन्द्रित प्रचारमा व्यस्त छन् ।

पौष २९ गते रिलिज हुन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ पुष्प र साम्राज्ञीको लागि महत्वपूर्ण छ । बक्स अफिसमा असफलताको स्वाद चाखिरहेका यी दुइका लागि यो फिल्म पनि चलेन भने आगामी दिनमा करिअर अगाडि बढाउन समस्या पर्नेछ ।

तर, योसँगै यी दुइलाई यो फिल्म रिलिज सकिने वित्तिकै अर्को फिल्मको प्रचारमा दौडनुपर्ने दबाब छ । किनकी, साम्राज्ञीले अभिनय गरेको फिल्म ‘ह्यारी कि प्यारी’ माघको २० गतेबाट रिलिज हुँदैछ ।

फिल्मको प्रचारमा कलाकार जितु नेपाल एक्लै दौडिरहेका छन् । यसैले, उनी पनि साम्राज्ञीको पर्खाईमा छन् । उता, पुष्पले नायिका वर्षा सिवाकोटीसँग जोडी बाँधेर काम गरेको फिल्म ‘मनसँग मन’ माघको २७ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्मको टिम पनि पुष्पको प्रतिक्षामा छ । यसैले, पुष्प र साम्राज्ञीले ‘तिम्रो मेरो साथ’ रिलिज भएपछि पनि आराम गर्ने समय पाउने छैनन् ।