सह-नायिकामा चित्त वुझाउँदै गरिमा

टिकटकबाट उदाएर म्यूजिक भिडियो हुँदै फिल्म क्षेत्रमा पनि लम्किदै गरेकी कलाकार हुन्, गरिमा शर्मा ।

गरिमाको सपना नेपाली फिल्मको चल्तीको नायिका बन्नेछ । यसैले, पनि उनले कुनै फिल्ममा मुख्य नायिकाको रुपमा दमदार फिल्म क्षेत्रमा इन्ट्री मार्छिन् होला भन्ने धेरैको अपेक्षा थियो । तर, उनले पहिलो फिल्म ‘लण्डन टू पेरिस’ मा काम गरिन् । यो फिल्मको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । यसैले, फिल्ममा गरिमा शर्मा सह नायिकाको रुपमा छिन् भन्ने कुरा वुझ्न लामो समय सोच्नै पर्दैन ।

यो फिल्म फागुण ५ गतेबाट रिलिज गर्ने तयारी मेकरको थियो । तर, अब यो मितिबाट पनि पोष्टपोन्ड गरिएको छ । यो फिल्मको छायांकन नै नसकिएको अवस्थामा गरिमाले अर्को फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएको खबर आज सार्वजनिक भयो ।

यो फिल्ममा गरिमाको भूमिका के हो भन्ने त खुलेको छैन । तर, फिल्म क्षेत्रमा नायिकाको रुपमा जमेर स्टार हुने सपना पालेकी यी सुन्दरी कलाकार नै कलाकारको भीडमा प्रवेश गरेकी छिन् । फिल्ममा नीता ढुंगाना, विपना थापा जस्ता नायिका पहिले नै छन् । यसैले, गरिमाको प्रवेशले फिल्ममा एक जना कलाकार थपिनु बाहेक अन्य खासै ठूलो अपेक्षा गर्ने अवस्था हुन्छ जस्तो नदेखिएको फिल्मीकर्मी नै बताउँछन् ।

गरिमाले आफूलाई फिल्म क्षेत्रमा स्थापित गर्न चाहिरहेकी छिन् या धेरै फिल्म खेलेर आफू फिल्ममा व्यस्त छु भनेर देखाउन खोजिरहेकी छिन्, यो उनले नै जान्ने कुरा भयो । तर, गरिमाले कहिलेसम्म सह–नायिकाको रुपमा फिल्ममा काम गर्नुपर्ने हो, त्यो समयले नै बताउला । गरिमालाई त हामी गुड लक मात्र भन्न सक्छौं ।