बोर्ड अध्यक्षको दोलखा यात्राः लोकेशन मात्र हेर्ने परम्परा नबनोस्
हरेक बर्ष नेपाल सरकारले ल्याउने बजेटमा नेपाली फिल्मलाई खासै सम्बोधन गरिदैन । सधै एउटा बुँदा समावेश हुन्छ, त्यो हो दोलखामा फिल्म स्टूडियो बनाउने ।
यो क्रम चलेको धेरै बर्ष भैसक्यो । तर, हरेक २ बर्षमा फेरिने बोर्ड अध्यक्षले पनि दोलखा पुगेर सुटिङ स्टूडियो बनाउने भन्दै भाषण गर्नु भन्दा बाहेक अरु काम गर्न सकेका छैनन् ।
चलचित्र विकास बोर्डमा नायक भूवन केसी बोर्ड अध्यक्ष बनेर आइसकेपछि पनि यही परम्परालाई निरन्तरता दिएका छन् । हालसम्म, फिल्म क्षेत्रका लागि खासै उल्लेखनीय काम गर्न नसकेका बोर्ड अध्यक्ष पनि केही दिन अगाडि प्रेमिका जीया केसीको साथमा दोलखा पुगे ।
दोलखा पुगेर केसीले पनि सुटिङ स्टूडियो बनाउने बताए । उसो त, हरेक बोर्ड अध्यक्षका लागि २ बर्ष बोर्डमा टिकिराख्ने मुल मन्त्र नै सुटिङ स्टूडियो बन्ने गरेको छ । तर, कसैले पनि आजसम्म दोलखामा स्टूडियोका लागि जग पनि खन्न सकेका छैनन् ।
भूवन केसीको भ्रमण पनि उही पुरानो निरन्तरता हो भने, त्यसको कुनै अर्थ छैन । यदि, उनले स्टूडियोका लागि जग मात्र खन्न सके भने पनि केही हदसम्म उनको याद हुनेछ । होइन भने, बोर्ड अध्यक्षको दोलखा भ्रमण फिल्म क्षेत्रका लागि हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही पनि हुन सक्दैन ।
प्रतिक्रिया