‘मिस यूनिभर्स’मा प्रतिस्पर्धा गर्न अमेरिका उडिन् सोफिया

‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका उडेकी छिन् । उनी, ‘मिस यूनिभर्स’मा प्रतिस्पर्धा गर्न अमेरिका उडेकी हुन् । त्रिभुवन विमास्थनलमा राष्ट्रिय झण्डाको साथमा मिडियाकर्मीसँग तस्वीर खिचाउँदै गर्दा सोफियामा उच्च आत्मविश्वास झल्किएको थियो । ‘मिस यूनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालार्ई विमानस्थलमा बिदाई गरेको थियो ।

विमानस्थलमा मिडियाकर्मीसँग कुरा गर्दै सोफियाले भनिन्–‘म यसपटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित छु । यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस यूनिभर्सको स्टेजमा दिनेछु ।’ उनले यसपटक आफूले तयारी पनि निक्कै राम्रो गरेको बताइन् ।

‘मिस यूनिभर्स नेपाल’को आयोजक संस्था उमंग क्रियशनका कार्यकारी निर्देशक उद्धव अधिकारीले नेपालले ‘मिस यूनिभर्स’को ७१ औं श्रृङ्खला भित्राउनेमा आफूहरु विश्वस्त रहेको र सोही अनुसार तयारी गरिएको बताए । ‘मिस यूनिभर्स’को स्टेजमा सोफियाले नेपाली संकृती झल्कने पहिरन समेत तयार पारेको बताएकी छिन् ।

जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरुले ‘मिस यूनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । सोफियाले आफ्नो यो यात्रामा साथ दिन सबै नेपालीहरुसँग आग्रह पनि गरेकी छिन् ।

अगष्टमा काठमाडौंको याक एन्ड यति होटलमा आयोजना भएको प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस यूनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।