फ्राइडे रिलिज: ‘डिसेम्बर फल्स’ प्रदर्शनमा, फाइल नपुग्दा मोफसलका बिहानी शो रद्द

आज शुक्रबारबाट हलमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ।

नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ आज शुक्रवारदेखि देशभरका हलमा रिलिज भएको हो । अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । तर यस फिल्मको फाइल चाँडो नपुग्दा मोफसलका बिहानी शो रद्द भएका छन् ।

फिल्मलाई मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर १७ शोज दिएको छ । यस्तै, यो फिल्मलाई वान सिनेमाज्ले नयाँ बाँनेश्वर र कालीमाटीमा पनि राम्रो ८ शो दिएको छ । बीग मुभिजमा भने फिल्मले ३ शोज पाएको छ ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।