बलिउडका लागि खराब रह्यो २०२२
सन् २०२२ बलिउडकर्मीका लागि बिर्सनलायक बनेर बिदा हुँदैछ । यो बर्ष रिलिज भएका ठूला बजेटका फिल्मदेखि साना बजेटका फिल्म सबैले पानी भन्न पाएनन् ।
बरु, बलिउडलाई यो बर्ष साउथका फिल्मले ठूलो चुनौती दिए । ‘आरआरआर, केजीएफ २, कान्तारा’ जस्ता फिल्मले बलिउड बजार हल्लाए । तर, बलिउडका नाम चलेका कलाकारदेखि उदाउँदै गरेका कलाकारका लागि यो बर्ष संझनलायक केही पनि बन्न सकेन । बलिउड फिल्मले इद, तिहार, क्रिसमस लगायतका पर्वमा पनि दर्शक हलसम्म तान्न सकेनन् ।
यो बर्ष बलिउडमा ‘ब्रम्हास्त्र, द काश्मिरी फाइल्स, दृश्यम २ र भुलभुलैयाँ २, गांगुबाई काठियावाडी’ले मात्र निर्मातालाई खुशी बनाउन सके । अक्षय कुमार, रणवीर सिंहदेखि बरुण धवनसम्मका फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन् । यशराज ब्यानरदेखि रोहित सेट्टी जस्ता निर्देशकका फिल्मले समेत पानी भन्न पाएनन् ।
यो बर्षको अन्तिम साता रिलिज भएको बलिउड फिल्म ‘सर्कस’ दर्शक नपाएर छटपटाइरहेको छ । यो बर्ष नायक रणवीर सिंहका लागि निक्कै नै खराब बन्यो । ‘जोएस भाई जोडदार, सर्कस’ जस्ता फिल्म चलेनन् । नायक अक्षय कुमारका पनि कुनै पनि यो बर्ष चलेनन् । नायक रणवीर कपुरको ‘शम्शेरा’ले हावा खाँदा ‘ब्रम्हास्त्र’ले केही हदसम्म राहत दियो ।
यो बर्ष नायक आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि पछारियो । साहरुख खान र सलमान खानको यो बर्ष फिल्म नै रिलिज भएन ।
बरु, ओटीटी प्लेटफर्मले बलिउडलाई केही राहत दियो । तर, बक्स अफिसमा अधिकांश फिल्म पछारिदा बलिउडले यो बर्षलाई संझन पनि नसक्ने पक्का छ । आगामी दिनमा बलिउडका लागि अझै संघर्षपूर्ण अवस्था आउन सक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया