सधै चुक्ने भुवन केसीका सल्लाहाकार नै ८ जना
चलचित्र विकास बोर्डमा नियुक्त भएसँगै नायक भुवन केसीले गरेको उल्लेखनीय कामको सूची बनाउने हो भने, खासै भेटिदैन । बरु, उनी एकपछि अर्को विवादमा फसिरहेका छन् । भुवन अब त आफैले गरेको निर्णयलाई समेत केही महिना टिकाउन नसक्ने अवस्थामा पुगेका छन् । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने भुवन विकास बोर्ड चलाउन नै नसक्ने हुन् कि भन्ने टिकाटिप्पणी पनि सुरु भएको छ ।
तर, रोचक कुरा के छ भने भुवन केसीसँग सल्लाहाकारको भने कमी छैन । उनले, चलचित्र संघको मागपछि बुधबार गोपाल कायस्थ र गोविन्द शाहीलाई सल्लाहाकारमा नियुक्त गरे । यो भन्दा अगाडि नै भुवनले ६ जना सल्लाहाकार राखिसकेका छन् ।
पहिलो कुरा त, विकास बोर्डका अध्यक्षलाई ८ जना सल्लाहाकार किन चाहिने हो कुन्नी ? त्यसमाथि सल्लाहा नै विवादित हुने र केही महिना पनि नटिक्ने दिने सल्लाहाकारले उनलाई कस्तो सल्लाहा दिइरहेका छन् भन्ने प्रश्न उठाउन सकिन्छ ।
भुवन केसी विकास बोर्डमा आएको ५ महिना बढी भयो । तर, यो बिचमा उनले ताली भन्दा बढी गाली पाए । अब, उनलाई आफ्नो निर्णयमा अडिग हुन नसक्ने अध्यक्षको रुपमा समेत देखिन थालेको छ । यस्तै हो भने, भुवनको सल्लाहाकार एक दर्जन पुग्ने तर काम भने खासै नदेखिने अवस्था पो आउने हो कि ?
अब, त झन् नेपाली कांग्रेसविनाको सरकार बनेकाले पनि भुवनलाई काम गर्न गाह्रो छ । यस्तो अवस्थामा, फिल्म क्षेत्र वुझेको भनेर बारम्बार भन्दै आएका भुवनले मुखले बोल्नु र काम गर्नु फरक कुरा रहेछ भन्ने वुझे होलान् ।
प्रतिक्रिया