‘चि मुसी चि’को गीतमा त्रिशलाको स्वर
पौषको २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चि मुसी चि’:इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्मकी मुख्य नायिका प्रियंका कार्कीको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो ।
यो फिल्ममा प्रियंकाको साथमा आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ । यो गीतमा डाक्टर त्रिशला गुरुङको स्वर छ । रोहित शाक्य म्यूजिक प्रोड्यूसर रहेको गीतमा रोहित, बिराज गौतमको संगीत, सौरभ श्रेष्ठ र रोहित शाक्यको शब्द छ । गायिका गुरुङले एउटा राम्रो हरर फिल्ममा स्वर दिन पाउँदा आफू खुशी भएको बताइन् ।
निर्देशक मर्ण जेम्सले पनि फिल्मको कथाको मर्म अनुसार गीत समावेश गरिएको बताए । एमी स्टूडियो प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मले नेपालमा हरर जनराको नयाँ ट्रेन्ड बसाल्ने विश्वास गरिएको छ । मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको फिल्ममा अरुण चक्रावर्तीको प्रस्तुति, रिञ्जु केसीको लगानी छ ।
प्रतिक्रिया