बिकास बोर्डको प्रवक्ता जस्ता चलचित्र कलाकार संघ र निर्देशक समाज
हुनत, नेपाली फिल्मका संघसंस्थाहरु चुनावको समयमा बढी सक्रिय हुन्छन् । अरु, समयमा उनीहरुको काम खासै देखिदैन । चलचित्र निर्देशक समाज त निर्देशकहरुको जन्मदिनमा शुभकामना दिन मात्र खुलेको जस्तो लाग्छ । झन्, कलाकार संघको त के कुरा गर्नु । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का संघमा भन्दा बढी सक्रिय फेसबुकमा हुन्छन् । आफ्नो व्यक्तिगत फेसबुक आइडीबाट विभिन्न बिषयमा लेख्दै अन्त्यमा कलाकार संघको नाम उल्लेख गर्नु त उनको दैनिकी नै बनेको छ । यसअर्थमा पनि यी दुई संस्थाको काम खासै देखिएको छैन ।
अझ, चलचित्र बिकास बोर्डमा अध्यक्ष भुवन केसी नियुक्त भएसँगै कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको चासो र व्यवहार बदलिएको छ । उनी, कलाकार संघको अध्यक्ष भन्दा पनि भुवन केसीको प्रवक्ता जस्तो गरि काम गरिरहेका छन् । भुवन केसी बोर्ड प्रवेश गर्दादेखि नै रबिन्द्र बोर्डमा बढी नै झुकाव राख्छन् ।
विकास बोर्ड अध्यक्ष भुवन केसीको कामलाई चित्त नवुझाउँदै चलचित्र संघले केही दिन अगाडि विज्ञप्ती नै निकालेर आन्दोलनको घोषणा गरिसकेको छ । विशेषगरि, बोर्डमा भुवन आएपछि चलचित्र संघप्रति गरम व्यवहार देखाएको उनीहरुको आरोप छ ।
तर, बोर्डविरुद्ध आन्दोलनको थालनी गरेको चलचित्र संघलाई चलचित्र कलाकार संघ र चलचित्र निर्देशक समाजले वार्तामा बस्न आग्रह गर्दै विज्ञप्ती नै निकाले । उनीहरुले आन्दोलनको माध्यमबाट केही पनि नहुने भन्दै बार्तामा बस्न आग्रह गर्दै निकालेको विज्ञप्तीमा अनावश्यक चासो देखिन्छ ।
एउटा संस्थाले अर्को संस्थाको आन्दोलनमा समर्थन गर्ने हो । होइन भने तटस्थ बस्न सकिन्छ । तर, विकास बोर्डको प्रवक्ता जस्तै निर्देशक समाज र कलाकार संघले भने चलचित्र संघलाई बार्तामा बस्न आग्रह गरिरहेका छन् ।
भुवन केसीले विकास बोर्डमा आएपछि खासै उल्लेखनीय काम गरेका छैनन् । अझ, नेपाली कांग्रेसबाट बोर्डमा आएका केसीलाई राजनीतिमा नयाँ समिकरण भएसँगै अब काम गर्न सहज पनि छैन ।
भुवन केसीले तयार पारेको सल्लाहाकार टिममा रविन्द्र खड्का पनि छन् । रविन्द्रले चलचित्र संघसँग कसरी वार्ता गर्ने र बिषयलाई मिलाउने बिषयमा भुवनलाई सल्लाहा दिन सक्छन् । तर, उनले एउटा संस्थाको अध्यक्षको हैसियतमा विज्ञप्ती निकाल्नु अचम्मको कुरा हो । कलाकार संघका सदस्यहरु नै रविन्द्रले कहिले कसको चाकडी त कहिले कसको चाकडीमा समय खर्चिएको भन्दै असन्तुष्ट छन् ।
निर्देशक समाजले पनि निर्देशकहरुको हकहितमा काम गर्न भन्दा विज्ञप्ती र बर्थ डे विस गरेरै समय बिताइरहेको छ । नेपालका फिल्म सम्बन्धी संघसंस्थाको रमिता यो भन्दा बढी के हेर्ने होला खै ?
प्रतिक्रिया