जब धिरेनसँगको भेटमा राजेशले भने–‘सिमाना खेलेको पनि ३० बर्ष भैसकेछ है’

नायकद्धय राजेश हमाल र धिरेन शाक्यबिच बोलचाल नै छैन कि भन्ने सोच धेरै मानिसमा छ । कुनै समय धिरेनले ‘राजेश हमाल को हो चिन्दिनँ’ भनेर दिएको एक अन्तरवार्तापछि उनीहरुको सम्बन्ध बिग्रिएको हो । राजेश र धिरेनले ‘भिष्मप्रतिक्षा, सिमाना’ जस्ता केही हिट फिल्ममा एकसाथ काम गरेका छन् । तर, धिरेनको बयानपछि उनीहरुको सम्बन्धमा चिसोपना आएन मात्र दुइलाई लिएर मेकरले फिल्म बनाउने कोशिश पनि गरेनन् ।

तर, अहिले समय बदलिएको छ । धिरेन शाक्य म्युजिक भिडियोमा काम गरिरहेका छन् । राजेश हमालले पनि भिडियोमा आफूलाई व्यस्त राखेका छन् ।

के तपाई र राजेश हमालको सम्बन्ध अहिले पनि सुमधुर छैन र भन्ने मेरो फिल्मको प्रश्नमा धिरेनले भने–‘होइन होइन, हामीबिच कामको सिलसिलामा भेट त भएको छैन । तर, कहिलेकाही कुनै समारोहमा भेट हुन्छ । केही समय अगाडि राजेशजीलाई मैले भेटेको थिएँ । सो समयमा हामीले विगतका कुरा गर्यौ । ‘सिमाना’मा काम गरेको पनि ३० बर्ष बढी भैसकेछ है भन्दै उहाँले विगत संझनुभयो ।’

धिरेनले आफूले उक्त समयमा राजेश हमालको बारेमा त्यसो नभनेको बताए । भने–‘त्यो समयमा एक अर्कामा फाटो ल्याउने काम खुबै हुन्थ्यो । हामीबिचमा पनि भएको त्यस्तै हो ।’

धिरेन शाक्यले आफूले फिल्म बनाउने तयारी गरेपनि कोरोनाका कारण स्थगीत गरेको बताए । तत्काल अब फिल्म बनाउने योजना नभएको उनको भनाई छ ।