करिश्मा भन्छिन्–‘नेता भएपछि कलाकारप्रति दर्शकको मत विभाजित हुने रहेछ’

करिश्मा मानन्धरलाई अब नायिका मात्र भनेर सुख छैन । करिश्मा अब नायिकासँगै नेतृ पनि भैसकेकी छिन् । उनी, नेकपा एमालेमा प्रवेश गरेर राजनीतिमा पनि सक्रिय रुपमा अगाडि छिन् ।

राजनीतिमा लागेपछि करिश्माप्रति आमा मानिसले दिने प्रतिक्रिया विभाजित भएको छ । कुनै समय सकारात्मक प्रतिक्रिया मात्र पाइरहेकी करिश्मालाई पछिल्लो केही बर्षदेखि मिश्रित प्रतिक्रिया दर्शकले सामाजिक संजालमा दिने गरेका छन् । करिश्मालाई पनि यो कुरा थाहा छ ।

मेरो फिल्मसँग कुरा गर्दै करिश्माले भनिन्–‘एउटा नायिकालाई दर्शकले अथाहा प्रेम गर्नुहुन्छ । नायिकालाई दर्शकले गर्ने प्रेमको कुनै सिमाना नै हुँदैन । तर, राजनीतिमा लागेपछि भने दर्शकको मत विभाजित हुने रहेछ । तर, मलाई यसमा कुनै चित्त दुखाई छैन । गाली खाएर पनि म राजनीतिज्ञ हुन्छु भने ठिकै छ ।’

तर, कहिलेकाही आउने तल्लो स्तरका प्रतिक्रियाले भने चोट पुग्ने करिश्मा बताउँछिन् । उनले भनिन्–‘म सबै खालको प्रतिक्रियालाई सम्मान गर्छु । तर, कहिलेकाही एउटा छोरीकी आमा हो भन्ने समेत विर्सिएर प्रतिक्रिया आउँदा दुःख लाग्छ ।’

करिश्माले नकारात्मक प्रतिक्रियामा जवाफ समेत फर्काउने गरेकी छिन् । उनी यस बिषयमा भन्छिन्–‘म कुनै पनि नराम्रो कुरा सहेर बस्न नै सक्दिनँ । मेरो बोलिहाल्ने बानी छ । म पहिलेदेखि नै यस्तै हो । यसैले पनि म नराम्रो प्रतिक्रियामा जवाफ फर्काइहाल्छु ।’