पोखरा स्ट्रिट फेस्टिभलमा बद्री पंगेनी, शान्ति श्रीदेखि सविन राई सम्मको प्रस्तुति रहने

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा हुन लागेको पाँचदिने महोत्सवमा नेपाली संगीतिक क्षेत्रका चर्चित गायक- गायिका देखि थुप्रै हास्य कलाकारहरूले समेत महोत्सवमा प्रस्तुति दिने भएका छन् ।

महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, दिपक थापा, बद्री पंगेनी, प्रेम राजा महत, बविता बानिया जेरी, कुमार पुन, राजन कार्की, राजा राजेन्द्र, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, युवराज भण्डारी, राजेन्द्र नपाली, सम्झना भण्डारी, श्याम राना, कृष्ण अखेली, पार्वती जि सीले प्रस्तुति दिने भएका छन् ।

यस्तै, रात्रिकालीन कन्सर्टका लागि अनुप्रष्ठ ब्याण्ड, क्भओएभ ब्याण्ड, सविन राई र लोकल ब्याण्डहरुले महोत्सव साँझका दर्शकहरुलाई झुमाउने छन् ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ भने महोत्सव आयोजनामा ७० लाख खर्च हुने उनको भनाइ छ ।

मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । महोत्सवमा सङ्घीय राजधानी काठमाडौँसहित चितवन, बीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायतका स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।

निजी क्षेत्रले गरेको सबैभन्दा ठूलो सडक महोत्सव भएको आयोजकको भनाइ छ। पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने बताए। नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने भट्टराईको भनाइ छ । साथै महोत्सवको अवसरमा होटलहरुले रुममा २० प्रतिशत छुट दिइएको उनले जानकारी दिए।

महोत्सवमा सुरक्षा व्यवस्था चुस्त बनाउन आयोजकले दुई वटा निजी कम्पनीलाई सुरक्षाको जिम्मेवारी दिएको छ, भने त्यसबाहेक सरकारले पनि विगतमा जस्तै सुरक्षा प्रदान गर्नेछ ।

महोत्सवमा बसुन्धारा पार्कभित्र १६ वटा स्टल र बाहिर सडकमा निःशुल्क एक सयभन्दा बढी स्टल रहने जानकारी दिएको छ ।