स्टार कलाकारलाई मिलनको सुझाव–‘अनुशासन सिक्नुहोस्’
आफू निर्मित तथा निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर रिलिज कार्यक्रममा बोल्दा बोल्दै निर्देशक मिलन चाम्स बहकिए । उनले, आफ्नो फिल्मका नयाँ कलाकारहरुको प्रशंसा गर्दै गर्दा आफूसँग काम गरिसकेका चल्तीका कलाकारहरुको खुलेरै आलोचना गरे । विशेषगरि, नाम चलेका कलाकारहरुमा अनुशासनको अभाव भएको तर्फ उनको तर्क थियो ।
उनले, निर्देशकले कलाकारको इशारामा काम गर्नुपर्ने अवस्था आएको तर्फ संकेत गरेका थिए ।
उनले भने–‘मलाई त अब सबै फिल्ममा नयाँ कलाकारसँग काम गरौं भन्ने लागेको छ । एकातिर अनुशासन पनि खुबै पालना गर्ने, फेरि काम गर्न पनि सजिलो । स्टार कलाकारहरुले यो कुरा सिक्न आवश्यक छ । विशेषगरि, समयको कुरामा स्टार कलाकारमा अनुशासन नै छैन ।’
उनले, कुनै पनि कलाकारको नाम उल्लेख नगरेपनि आफूले एक दशकदेखि काम गरेका सबै कलाकारलाई भन्न खोजेको बताए ।
मिलनले अगाडि भने–‘म समयको पक्का छु । यदि, एउटा कलाकारका कारण आधा घन्टा मात्र छायांकन ढिला भयो भने के हुन्छ थाहा छ ? दैनिक आधा घन्टा ढिलो हुँदा एक महिनामा कति समय ढिलो होला ? यसले, निर्माताको बजेट कति बढ्छ होला । यो कुरा स्टारहरुले सोच्नु पर्छ ।’
मिलनले नायक राजेश हमालदेखि दयाहाङ राई, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन लगायतका कलाकारसँग काम गरिसकेका छन् ।
प्रतिक्रिया