चलचित्र संघले घोषणा गर्‍यो बोर्डविरुद्ध चरणवद्ध आन्दोलन: हल बन्द गर्ने देखि बोर्डमा ताला लगाउने सम्म

चलचित्र विकास बोर्डले चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ ।

चलचित्र संघको बुधबार बसेको भेलाले विकास बोर्ड हल व्यवसायप्रति पूर्वाग्रही भएको निष्कर्ष निकाल्दै बोर्डविरुद्ध चरणवद्ध आन्दोलनमा जाने घोषणा गरेको हो ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधेर काम गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने उल्लेख छ ।

संघले पहिलो चरण र दोस्रो चरणको प्रदर्शन गर्ने कार्यक्रम पछि थप दुई कार्यक्रम गर्ने अनि मिति निक्र्यौल गर्ने जनाएको छ ।

यसैगरी संघले नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति पनि गठन गरेको छ ।  उक्त भेलापश्चात् चरणबद्ध आन्दोलनमा उत्रिने निष्कर्ष सहित संघले बिहीबार विज्ञप्ति जारी गरेको हो।

विकास बोर्ड निष्पक्ष हुन नसकेको जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

रिलिजको एकसाता अगाडि फिल्म सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डले ल्याएको नियमको विरुद्धमा हल व्यवसायी आन्दोलित भएका हुन् ।

८ बजेपछि सो समय राख्न बोर्डसँग अनुमति लिनुपर्ने नियमपछि हल व्यवसायी विकास बोर्डसँग रुष्ट भएका थिए । तर बोर्डले सेन्सरका लागि हप्ता दिनअघि कागजपत्र बुझाउनुपर्ने नियम जारी गरेपछि वितरकहरूसमेत सदस्य रहेको चलचित्र संघ आन्दोलनको तहमा पुगेको हो । यो नियमका कारण विदेशी फिल्म नेपाल ल्याउन कठिन भएपछि वितरकहरू विकास बोर्डको यो नियम हटाउनुपर्ने मागमा छन् ।