बलिउडले मतलब नगरेर के भो, नेपालमै विपिनलाई भ्याईनभ्याई छ

‘पशुपति प्रसाद’बाट चम्किएको नायक विपिन कार्कीको नेपाली फिल्मको करिअर ‘जात्रा हुँदै के घर के डेरा’सम्म आइपुग्दा उचाइमा उडिरहेको छ । यस्तो लाग्छ, अधिकांश निर्माताको पहिलो रोजाइको नायक नै विपिन हुन् । विपिनलाई पनि आफ्नो व्यस्तता थाहा छ । यसैले, त उनी फिल्म धेरै हुँदा पारिश्रमिक पनि महंगो मागिरहेका छन् ।

विपिनले केही दिनदेखि फिल्म ‘प्रसाद २’को छायांकन गरिरहेका छन् । यो फिल्मपछि उनको हातमा ‘भष्मे डन’ नामक फिल्म छ । यो फिल्ममा त विपिन शिर्ष भूमिकामा नै छन् ।

विपिनको हातमा ‘चंगाचेट २’ पनि छ । माधव वाग्लेले फिल्म ‘विवेक’ नामक फिल्म बनाए भने, विपिन यसमा पनि व्यस्त हुनेछन् । फिल्म ‘महापुरुष’पछि निर्देशक प्रदीप भट्टराइले फिल्म ‘महाजात्रा’ नामक फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्ममा पनि विपिन नै मुख्य भूमिकामा हुनेछन् ।

रिलिजकै कुरा गर्ने हो भने विपिनको ‘फूलबारी’ फागुणको ५ गते रिलिज हुँदैछ । नयाँ बर्षसँगै फिल्म ‘प्रसाद २’ पनि रिलिज हुनेछ । नेपाली फिल्म क्षेत्रमा विपिन जस्तै व्यस्तता दयाहाङ राई र सौगात मल्लको पनि देखिएको छ ।

बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएर आधा दर्जन पटक मुम्बई धाएका विपिन अन्ततः त्यहाँबाट निराश भएर फर्किए । तर, बलिउडले धोका दिएपनि नेपाली फिल्मका दर्शक र फिल्मीकर्मीले विपिनमाथि ठूलो भरोसा गरेको देखिन्छ ।