‘कुसुमे रुमाल’ विवाद फेरि चर्कियो, उद्धव पौडेलले धोका दिएको रञ्जित गजमेरको आरोप
बरिष्ठ संगीतकार रञ्जित गजमेरले निर्माता तथा प्रदर्शक उद्धव पौडेलमाथि धोका दिएको आरोप लगाएका छन् । आफ्नो नयाँ पुस्तक ‘मोहनी मादलको’मा उनले उद्धव पौडेलले ‘कुसुमे रुमाल’ फिल्मलाई लिएर आफूहरुलाई धोका दिएको आरोप लगाएका छन् ।
तर, यो बर्ष २५ बर्ष अगाडि नै तत्कालिन निर्माता संघ र सर्बोच्च अदालतबाट समाधान भैसकेको थियो । तुलसी घिमिरे निर्देशित यो फिल्मको समाधान भैसकेको कुरालाई गजमेरले पुस्तकमार्फत फेरि सतहमा ल्याइदिएका छन् ।
गजमेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्–‘हामीले अत्यन्त विश्वासका साथ पौडेलललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं । तर, नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो नाममा दर्ता गर्नुभएछ । फिल्म धुमधामले चल्यो । ठाउँठाउँमा सिल्भर जुबली र सय दिन पनि मनायो । फिल्मको कमाइबाट पौडेलले फिल्म हल निर्माण गर्नुभएको पनि सुनियो । तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग बैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आज पर्यन्त पनि कायमै छ ।’
आफ्नो घरमा बसेको र आफ्नै श्रीमतीले पकाएको खाएको मान्छेले यसरी धोका देलान् भनेर आफूले नसोचेको पनि गजमेरले पुस्तकमा उल्लेख गरेका छन् ।
तर, प्रदर्शक उद्धव पौडेलले भने यो बिषय २५ बर्ष अगाडि नै सकिएको भन्दै अहिले आएर किन उचालियो भन्दै प्रश्न गरेका छन् । उनले, रञ्जित गजमेर फिल्मको संगीतकार मात्र भएको बताउँदै यसको आधिकारिक मान्छे तुलसी घिमिरे र श्रवण घिमिरे रहेको बताएका छन् । तुलसी र श्रवणसँग नै यी कुराहरुको डिल भएको उनको तर्क छ ।
भूवन केसी, तृप्ती नाडकर अभिनित यो फिल्मले नेपाली बक्स अफिसमा धुम मच्चाएको थियो । फिल्मको शिर्ष गीत आज पनि सुपरहिट छ । यसपछि, उद्धव पौडेलले आफ्नै ब्यानरमा ‘कुसुमे रुमाल २’ पनि बनाइसकेका छन् । यो फिल्म भने बक्स अफिसमा चलेन ।
प्रतिक्रिया