पुराना फिल्मको डिजिटाइजेसनले चिरन्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’बाट सम्मानित
चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’बाट सम्मानित भएका छन् ।
फिल्म हेरिटेज फाउन्डेसन र फेडरेसन अफ इन्टरनेसनल फिल्म आर्काइभद्वारा आयोजित कार्यक्रममा गुरागाईंलाई पुराना नेपाली फिल्मको डिजिटाइजेसनमा भूमिका निभाएको भन्दै सम्मान गरेको हो । उनलाई बलिउड अभिनेता बोमन इरानीले सम्मान प्रदान गरेका थिए ।
गुरागाईंले तीन वर्ष लगाएर सरकारको लगानीमा बनेका १० नेपाली फिल्मको डिजिटाइजेसनमा भूमिका निभाएका थिए । सन् २०१७ मा भारतमा नै आयोजना गरेको कार्यशालामा सहभागी भइसकेपछि गुरागाईंले डिजिटाइजेसनको कामलाई अगाडि बढाएका हुन् ।
चलचित्र विकास बोर्डले उनकै नेतृत्वमा ‘आमा’, ‘कुमारी’, ‘जीवनरेखा’, ‘के घर के डेरा’, ‘बद्लिँदो आकाश’, ‘मनको बाँध’, ‘हिजोआज भोलि’, ‘सिन्दुर’, ‘शान्तिदीप’, ‘परिवर्तन’ आदिलाई डिजिटाइज गरेको थियो । बोर्डले उस समयमा एनएफडीसीमार्फत बनेका ऐतिहासिक महत्वका डकुमेन्ट्रीको पनि डिजिटाइजेसन गरेका थिए ।
फिल्मसँगै डकुमेन्ट्रीको डिजिटाइजेसनमा पनि उनले भूमिका निभाएका छन् । मुम्बईमा हप्ता दिनसम्म चलेको कार्यक्रममा अमिताभ बच्चन, गुलजार, गोविन्द निहलानी आदि फिल्मकर्मीले आर्काइभ र डिजिटाइजेसनको महत्वको बारेमा बोलेका थिए ।
उनीसँगै डिजिटाइजेसनमा काम गरेका अन्य दुईलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया