‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औं संस्करण आजबाट सुरू

सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औं संस्करण आजबाट सुरू भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटनमा शान्ता नेपालीको निर्देशनमा बनेको वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पे्रचर्स, टप अफ द वर्ल्ड’ प्रदर्शन गरिएको हो ।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको महोत्सव यही पुस ३ देखि ६ गतेसम्म चल्नेछ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले फेस्टिभल शुभारम्भ गरेका थिए । त्यस अवसरमा अध्यक्ष मगरले  बोल्दै मानव अधिकारसम्बन्धी फिल्म बनाउँदा घटनाक्रमलाई नजिकबाट नियाल्ने, सामग्री र नैतिकताको विषयलाई पनि ध्यान दिन अनुरोध गरे । सीमान्तकृत व्यक्तिहरूलाई मानवअधिकारको शिक्षा प्रदान गर्ने, अधिकारको संरक्षण र प्रवर्धन कसरी गर्ने भन्ने विषयमा छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले पछाडि पारिएका, दूरदराजमा बस्ने र सीमान्तकृत मानिसलाई मानवअधिकारबारे बुझाउनु जरुरी रहेको बताए । मानवअधिकार सम्बन्धी सन्धिलाई तल्लो तहसम्म पुर्याउन जरुरी रहेको उनको भनाइ छ ।

समाजमा अझै पनि हुनेगरेको बालविवाह, छाउपडी प्रथा, भेदभाव र छुवाछूतजस्ता समस्यालाई उन्मूलन गर्न सशक्त उपाय बन्नसक्ने उदाहरण दिँदै उनले फिल्ममार्फत पनि धेरै समस्या समाधान गर्न सकिने सुझाव दिए ।

अध्यक्ष मगरले भने, “दुई घण्टाको भाषणले पूरा गर्न नसकेको विषय एक मिनेटको फिल्मले पूरा गरेर आँखा खोल्न मद्दत गर्न सक्छ ।” आयोगले पनि केही छोटो फिल्म बनाएर अधिकारबारेका सन्देश प्रवाह गर्न खोजेको उनले बताए ।

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ । नेपालसहित २५ देशका ६४ फिल्म र डकुमेन्ट्री देखाइने छ । नेपाली निर्देशक अविनाशविक्रम शाह, भारतीय लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, दक्षिण कोरियाका मानवअधिकार अभियन्ता सु–ली दिलबर र इजरायली निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।

महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित छोटो फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट फिल्मलाई नगदसहित अवार्ड प्रदान गरिने छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ । महोत्सव निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी फिल्म निर्माण शैली, कथा छनोट, वाचन, पात्र चयन र अभिनयबारे सिकाइने भएको छ ।