के प्रदीप भट्टराई नम्बर १ निर्देशक हुन् ?

नेपालमा नायक वा नायिकाहरुको पोजिसनको मापन जहिले गरिन्छ । को नायक वा नायिका नम्बर १ भन्ने बिषयमा आ आफ्नै खालको समीक्षा गर्ने गरिन्छ । तर, निर्माता, निर्देशकको हकमा भने यो लागू भएको छैन । तर, फिल्म क्षेत्रमा जन्मिएका थुप्रै निर्देशकमध्ये केही यस्ता पनि छन् जसले सुपरहिट फिल्मको ग्यारेन्टी दिन सक्छन् । यसअर्थमा उनीहरुको पोजिसन मापन गर्नु गलत नहोला ।

शनिबार मात्र ५१ दिन मनाउन सफल फिल्म ‘महापुरुष’का निर्देशक हुन् प्रदीप भट्टराई । उनले, निर्देशन गरेको चौथो फिल्म हो ‘महापुरुष’ । तर, उनीसँग यति मात्र सफलताको तथ्यांक छैन । प्रदीपले करिअरमा आजसम्म ४ वटा फिल्म निर्देशन गरे । यी चारै फिल्मले बक्स अफिसमा बम्पर व्यापार मात्र गरेनन्, ५१ दिनको आँकडा समेत पार गरेका छन् ।

पहिलो फिल्म ‘जात्रादेखि शत्रु गते, जात्रै जात्रा र महापुरुष’सम्म आइपुग्दा प्रदीपले सफलताको स्वाद गज्जबले चाखेका छन् । उनी, दर्शकको विश्वासको निर्देशक समेत बनिसके । यसको उदाहारण उनले बनाउन लागेको नयाँ फिल्म ‘महाजात्रा’बाट पनि लिन सकिन्छ । यो फिल्मको औपचारिक घोषणा समेत भएको छैन । तर, फिल्मले अमेरिका र अष्ट्रेलियाबाट १ करोड हारहारीको कमाई गरिसकेको छ । यसबाट पनि प्रदीपको ब्रान्ड र उनीप्रति दर्शकको विश्वास मापन गर्न सकिन्छ । फिल्ममा कमेडी, सामाजिक कथा बोक्ने प्रदीप इमान्दार भएर फिल्म बनाउने बताउँछन् ।

नेपाली फिल्म क्षेत्रमा यो बर्ष ५१ दिन मनाउने दोश्रो फिल्म हो ‘महापुरुष’ । प्रदीपले पाएको सफलता र जितेको विश्वासले पनि उनलाई नम्बर १ निर्देशक भन्दा फरक नपर्ला ।