बालगायिका कमलाले समीक्षासँग माफी माग्दै भनिन्- अब उप्रान्त गीत गाउँदा ख्याल राख्नेछु

बालगायिका कमला घिमिरेले सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै माफी मागेकी छिन् ।  आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका घिमिरेले क्षमायाचना गरेकी हुन् ।

अन्जानमा गल्ती भएको भन्दै कमलाले माफी मागेकी मात्र छैनन्, अहिले आफूले गाएको दोहोरीलाई लिएर गरिएको हल्लाका कारण आफू छक्क परेको पनि बताएकी छिन् ।

उनले आफूले गाएको गीतलाई लिएर अनेक चर्चा गरिएको भन्दै त्यसलाई बुझिएको तरिका गलत भएको पनि बताएकी छिन् । आफूहरुले डलरका लागि भनेर सोचेर, सम्झेर स्क्रिप्ट तयार पारेर र कसैलाई बर्बादै पार्नका लागि दोहोरी नगाएको पनि उनले बताएकी छिन् ।

उनले अहिले गरिएको हल्लाका कारण आफू अझ बढी दुखी भएको र छक्क परेको पनि आफ्नो स्टाटसमा उल्लेख गरेकी छिन् । कमला र गायक सुमन परियारले गाएको लाइभ दोहोरीले गायिका समीक्षा अधिकारीलाई चोट परेको भन्दै यस विषयमा अहिले व्यापक रुपमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । कतिपयले गीतको निकै चर्को आलोचना पनि गरेका छन् ।

यो गीतका कारण अहिले समीक्षालाई पर्न गएको असर, दिदीको आत्मसम्मान र असरप्रति हृदयदेखि नै माफी मागेको उल्लेख गरेकी छिन् । अनि उनले आफूलाई सानी बहिनी सम्झिएर माफी गरिदिन अनुरोध गरेकी छिन् । साथसाथै उनले आइन्दा यस्तो गल्ती नहुने पनि उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छन्, ‘त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु र अझ बढि दुखी छु’।

यस्तो छ उनको स्टाटस

सबैलाइ नमस्ते म हजुरको छोरी/बहिनी कमला घिमिरे ।
सर्बप्रथम त सबैलाइ यो जानकारी गराउछु कि छहारी युट्युब च्यानलमा अपलोड भयको दोहोरी जस्लाइ अहिले विभिन्न टिकाटिप्प्ननी गरियको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु अझ बढि दुखी छु । राम्रै गरि हेरेरै हिडदा पनि त कहिले काहीँ ठेस लाग्ने गर्छ हो त्यस्तै भयो दाइ सुमन परियार सङ मैले गीत गाउदा गाउन बसियो गाउदै जादा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउदा जान अन्जानमा केही त्यस्ता शब्द आय जुन कसैलाइ लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो, जसरी अहिले दिदी समिक्षा अधिकारीलाइ लक्षित गरेर गीतलाइ सामाजिक सन्जालमा भाइरल गरियको छ यो कुराले दिदिलाइ पर्न गयको असर, दिदिको आत्म सम्मान मा पर्न गयको असर प्रती हृदयबाटै माफी माग्छु आफ्नै सानी बहिनी सम्झियर माफ गरिदिनुहोला आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाइ लियर पक्ष विपक्ष गर्दै बोल्नुभयको छ, म बाट गल्ती हुदा मलाइ सम्झाएको भय म कति खुसी हुन्थेहोला हजुरको उपदेश शिरोभार गर्थेहोला तर मन क्षेत बिक्षेत हुनेगरी लेखियो बोलियो यस्ले एक्दम दुखी बनायो खैर केही छैन अब उपरान्त गीत गाउदा एकदम ख्याल राख्नेछु, हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हटन चाहान्न, सधै हजुरहरुकै प्रिय बन्न पाउ, गीत सङीतमै रम्न पाउ, कहिकतै बिरायछु भने सल्लाह सुझाब दिदै गर्नु है र अन्तयमा फेरि पनि माफी माग्दछु ।।
हजुरकै कमला ।।।।