चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्दै संघ, देशभरका हललाई भेला बोलाएर निर्णय गर्दै
नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्ने भएको छ ।
हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले बोर्डविरुद्ध फिल्म हलको व्यवसाय नै विस्थापन गर्ने गरी काम गरिरहेको र व्यवसाय बचाउनुपर्ने परिस्थिति आएको भन्दै संघले आन्दोलनको तयारी गरेको हो ।
संघले पुस ६ गते बुधबार काठमाडौंमा नेपाल चलचित्र संघका सदस्यहरूको बृहत् भेला गर्ने तयारी गरेको छ । यसका लागि देशभरका सबै सदस्यलाई हिजो पत्र लेख्दै महासचिव नरेन्द्र महर्जनले बोर्डको नाम तोकेरै त्यसविरुद्ध आन्दोलन गर्ने बताएका छन् । आन्दोलनको स्वरुपको तयारी गर्न काठमाडौंमा भेला आयोजना गर्न लागेको संघको भनाइ छ ।
फिफा विश्वकप म्याच हलमा देखाउन भन्दै सुरुमा इमेल नै गर्ने तर पछि हलले सम्पूर्ण तयारी गरिसके पछि म्याच हलमा देखाए कारबाही गर्ने बोर्डले चेतावनी दिएपछि संघ रुष्ट बनेको छ ।
बोर्डले केही समयदेखि विभिन्न बहानामा अनावश्यक दुःख दिएको र चलचित्र वितरक तथा प्रदर्शकलाई विस्थापित गर्ने मनसायको क्रियाकलाप गरेको संघले आरोप लगाएको छ ।
“चलचित्र विकाश बोर्डले वास्तविक चलचित्र व्यवसायीहरूको प्रतिनिधित्व गर्न नसकेको परिप्रेक्षमा केही समयदेखि विभिन्न बहानामा अनावश्यक दुःख दिनुका साथै चलचित्र वितरक तथा प्रदर्शहरुलाई व्यवसायबाट नै विस्थापित गर्ने मनसायको क्रियाकलाप गर्दै आइरहेको छ,” संघले आफ्ना सदस्यहरूलाई पठाएको पत्रमा भनेको छ, “नेपाल चलचित्र संघ आफ्नो व्यवसायको बचाउका लागि चलचित्र विकाश बोर्डविरुद्ध आन्दोलनमा उत्रन बाध्य भएको छ ।”
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले भने, ‘हाम्रो आगामी कार्यक्रमहरू सामुहिक भेलाले दिने आदेशले नै निर्धारण गर्नेछ’एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, विश्वकप फुटबल देखाउने विषयमा देखिएको विवाद र रात्रि शोजस्ता विषयमा हाम्रो आपत्ति छ ।’ यस्तै, आवश्यक परे भुवनविरुद्ध अदालत जाने महर्जनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया