छविराज ओझाः घाइते कि निदाएका ‘बाघ’ निर्माता ?

नायक राजेश हमालदेखि रेखा थापा हुँदै आर्यन सिग्देल, जीवन लुइटेल, सविन श्रेष्ठ, शिल्पा पोखरेल लगायतका कलाकारलाई फिल्म क्षेत्रमा स्थापित गर्ने निर्माता हुन् छविराज ओझा । ओझाको फिल्ममा काम गरेपछि जोकोही कलाकार पनि स्टार हुन्छन् भनिन्थ्यो । छविले निर्माण गरेका फिल्मको चर्चा र हाइप नै अर्कै हुन्थ्यो । नेपाली फिल्म क्षेत्रमा संकट लाग्दै गर्दा छविले बनाएका फिल्मले माहोल नै नयाँ बनाइदिन्थ्यो ।

तर, अहिले समय फेरिएको छ । छविराज ओझाले ‘मंगलम’पछि नयाँ फिल्म बनाएका छैनन् । उनी पछि आएका केही निर्माताले फिल्म क्षेत्रमा तहल्का नै मच्चाइसकेका छन् । के छविराज ओझाको ‘बाघ निर्माता’को टाइटल अन्य निर्माताले खोसेका हुन् ? या उनी अहिले निदाएका छन् । कि उनी घाइते बाघ जस्तै भएका हुन् ?

विशेषगरि, पारिवारिक समस्यामा परेपछि छविराज ओझाले फिल्म बनाउन नसकेका हुन् । शिल्पा पोखरेलसँग डिभोर्सको मुद्दा परेपछि छविराज ओझा मिडियाबाट टाढा देखिए । यसकारण, ‘बाघ’ घाइते भएको अवस्था छ । तर, बिहिबार आयोजना भएको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज कार्यक्रममा भने नायक आर्यन सिग्देलले छविलाई इङ्गित गर्दै ‘बाघ निदाएको’ बताए ।

नेपाली फिल्मका दर्शक अहिले बदलिएका छन् । छविले बनाउने फिल्मका दर्शक अब परिवर्तन भैसकेको अवस्था छ । यसैले, छवि नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउने तयारीमा छन् ।