केकी र विपिनको ‘प्रसाद २’को छायांकन सुरु, ४० दिनसम्म खिचिने
प्रतीक्षित फिल्म ‘प्रसाद २’को छायाङ्कन अन्ततः आजबाट सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा यो फिल्मको छायाङ्कन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन् । सुवास थापा फिल्मका प्रस्तुतिकर्ता हुन् ।
आज बिहान भएको शुभ साइत समारोहमा मुख्य कलाकारहरू नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहूर्त सर्ट दिएका थिए । सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । चलचित्रलाई सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् ।
चलचित्र ‘प्रसाद’ सुपर हिट भएपछि यसको सिक्वेलको रूपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । फिल्मको कथावस्तु उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो शृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन् ।
चलचित्रको प्रदर्शन मिति छायाङ्कन सकिएपछि तोकिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया