‘छक्का पन्जा ४ र छड्के २’ जुध्दा दीपक र अनमोललाई यस्तो घाटा

बर्षको पहिलो दिनमै रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’बाट बम्पर व्यापारको अपेक्षा गरेका नायक अनमोल केसीलाई साउथ फिल्म ‘केजीएफ २’ले धक्का दियो । फिल्मले जसोतसो निर्माता त बचायो तर अनमोलका लागि कुनै ठूलो योगदान गरेन ।

यसैले, पनि नायक केसी यो बर्षको बिदाई ‘छड्के २’को सुखद बिदाई गरेर गर्न चाहन्छन् । तर, उनको सपनामा फिल्म ‘छक्का पन्जा ४’ बाधक बन्न सक्छ । अनमोलका फिल्म लामो समय भन्दा पनि इनिसियल व्यापारमा सफल बढी भएका छन् । यसर्थ, यो फिल्मले पनि इनिसियल व्यापारमै कमाल गर्न आवश्यक छ ।

तर, ‘छक्का पन्जा ४’ जस्तो बलियो फिल्मसँग जुध्नु अनमोलका लागि चानेचुने कुरा होइन । तर, यसो भन्दै गर्दा दीपकराज गिरीका लागि पनि अनमोल बाधक बन्न सक्छन् । दीपकलाई यो फिल्मबाट ‘कबड्डी ४’ले सेट गरेको २० करोड माथिको ग्रस कलेक्शनलाई तोड्नु छ । यसका लागि उनी सकेसम्म सोलो आउँदा नै फाइदा हुन्छ ।

तर, अनमोल केसीको स्टारडम पनि कमजोर नरहेकाले ओपनिङ व्यापारमा दीपकलाई अनमोलले कडा टक्कर दिन सक्छन् । यसैले, दीपकको ठूलो व्यापार गर्ने सोचमा अनमोल बाधक बन्न सक्छन् ।

दुबै निर्माताले एक ठाउँमा बसेर यो बिषयमा समाधान खोजेको खण्डमा फाइदा दुबैलाई नै छ । तर, नेपाली निर्माताहरु आफू डुबेर अरुलाई पनि डुबाउन माहिर छन् । के यी दुइ मध्ये कोही एक पछि जालान् त ? कि टसमस नै नगरि फिल्म रिलिज गर्लान्, प्रतिक्षा गरौं ।