‘अवतार २’लाई उच्च शो, आक्रामक बुकिङ
एक महिना भन्दा लामो समयदेखि सुनसान देखिएको नेपाली बक्स अफिसलाई शुक्रबारबाट रिलिज हुन लागेको हलिउड फिल्म ‘अवतार २’ले जुरुक्कै उठाइदिने भएको छ । ‘महापुरुष’पछि रिलिज भएका नेपाली फिल्मले बक्स अफिसमा बलियो कमाई गर्न नसकिरहेको समयमा ‘अवतार २’ले भने पहिलो दिनमा बम्पर ओपनिङ गर्ने पक्का जस्तै छ ।
एक दशक अगाडि बनेको ब्लकबस्टर फिल्म ‘अवतार’को सिक्वेलको रुपमा निर्माण भएको ‘अवतार २’ले संभवत नेपाली बक्स अफिसमा सुनामी नै ल्याउन सक्छ । यो फिल्मलाई नेपाली मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् ।
क्यूएफएक्सले देशभरका चेनमा ६७ शोज दिएको छ । ३ घन्टा १० मिनेट लामो हुनु र थ्रीडीमा रिलिज हुने भएकाले पनि अझ फिल्मको शोज केही कम हुन पुगेको हो । यस्तै, वान सिनेमाज् नयाँ बाँनेश्वर र कालिमाटीमा यो फिल्मलाई १८ शोज उपलब्ध गराइएको छ । वान सिनेमाज् बाँनेश्वरमा बुकिङ आक्रामक छ ।
बीग मुभिजले यो फिल्मलाई १० शोज उपलब्ध गराएको छ । देशभर नै यो फिल्मको व्यापार आक्रामक हुने प्रक्षेपण भैरहँदा नेपाली प्रदर्शकहरुले राहतको श्वास फेर्नेछन् । जेम्स क्यामरुनले यो फिल्मको निर्देशन गरेका हुन् ।
प्रतिक्रिया