नोरा फतेहीले ज्याकलिनविरुद्ध हालिन् मानहानीको मुद्दा
नोराको आरोपमा ज्याकलिनका वकिलले भने- मानहानि मुद्दाको प्रश्न नै उठ्दैन
डान्सर तथा अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिज विरुद्ध सोमबार दिल्लीको अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । नोराले यस उजुरीमा १५ मिडिया संस्थाको नाम पनि तानेकी छिन् ।
ज्याकलिनले विनाप्रमाण आफ्नो नाम ठगी कान्डका आरोपी सुकेश चन्द्रशेखरसँग जोडेका भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् । नोराले ज्याकलिन र सुकेशसँगै २०० करोडको मनी लान्ड्रिङ मुद्दामा आफ्नो नाम गलत रूपमा तानेको बताएकी छन् ।
नोराले सुकेशसँग आफ्नो कुनै सिधा सम्बन्ध नरहेको तर उसकी श्रीमतीसँग भने सामान्य चिनजान रहेको बयान दिएकी थिइन् । नोराले सुकेशबाट कुनै उपहार पाएको पनि खण्डन गरेकी छिन् । नोराले अदालतमा दर्ता गरेको निवेदनमा ज्याकलिनबाहेक थुप्रै समाचार संस्थाले विनाप्रमाण आफ्नो मुछेर समाचार बनाएको र यसले आफ्नो करिअर र मानसिक स्वास्थ्यमा असर परेको दाबी गरेकी छिन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ ।
नोरा र ज्याकलिन दुबैलाई सुकेश चन्द्रशेखरसँग संलग्न २०० करोड फिरौती प्रकरणमा विगत केही महिनादेखि प्रवर्तन निर्देशनालयले सोधपुछ गरिरहेको छ। ज्याकलिन पनि यस मुद्दामा सह-आरोपी हुन्।
नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।
ज्याकलिनले प्रवर्तन निर्देशनालय (इडी)सँगको सोधपुछमा ठग सुकेश चन्द्रशेखरको सम्बन्ध नोरा फतेहीसँग पनि रहेको बताएकी थिइन् । ज्याकलिन र नोरा दुवै विदेशी नागरिक हुन् ।
नोराको आरोपपछि ज्याकलिनका वकिलले यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले आफ्ना ग्राहकले नोराको बारेमा सार्वजनिक रुपमा केही नबोलेकाले मानहानीको मुद्दा नबनेको बताए ।
एक अन्तर्वार्ताका क्रममा प्रशान्त पाटिलले भने, ‘ज्याकलिनले कुनै पनि इलेक्ट्रोनिक वा प्रिन्ट मिडियाको अगाडि नोरा वा अन्य कुनै व्यक्तिविरुद्ध कुनै बयान दिएकी छैनन् । उनले जानाजानी प्रवर्तन निर्देशनालयले गरेको कारबाहीबारे बोल्न अस्वीकार गरेका छन् । आजसम्म उनले कानुनको मर्यादा कायम राखेका र मुद्दा विचाराधीन भएकाले केही बोल्न नमानेका छन् ।
प्रतिक्रिया