‘डिसेम्बर फल्स’ निर्माताको दाबी–‘मेरो फिल्मले ९ करोड माथि कमाउँछ’
पौषको १५ गतेबाट नेपाली फिल्म ‘डिसेम्बर फल्स’ रिलिज हुँदैछ । बक्स अफिसमा दर्शक फर्काउन यही फिल्म सफल हुने धेरैको विश्वास छ । यो फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।
यसअघि ‘धुवाँ यो नशा, कसम’ जस्ता फिल्म बनाएका रामप्रसाद यसपटक केही बर्षको अन्तरालपछि फिल्म क्षेत्रमा फर्किएका हुन् । अघिल्ला फिल्म बनाएर डुबेका रामप्रसाद यसपटक दर्शकले आफूलाई माया गर्नेमा विश्वस्त रहेको बताउँछन् ।
उनले भने–‘यसपटक मलाई फिल्म चल्छ भन्नेमा कुनै दुविधा नै छैन । यसपटक मेरो फिल्मले ९ करोड ३ लाख ३३ हजार भन्दा बढी पैसा कमाउँछ । यो पैसा नेपालको हल, डिजिटल राइट्स, ओभरसिज राइट्स सबै जोडेर पनि हुनसक्छ । तर, मलाई हलबाट नै फिल्मले यो आँकडा ग्रस गर्नेमा विश्वास छ ।’
उनले, फिल्मको कथावस्तु, प्रस्तुति, मेकिङ सबै कुरामा फिल्म अब्बल बनेको दाबी समेत गरे । यतिमात्र होइन, रामप्रसादले अघिल्ला फिल्म बनाउँदा आफूले अन्तिममा मुख खुम्च्याउने गरेपनि यसपटक निर्धक्क भएर बोल्न सकेको सुनाए ।
३ करोड भन्दा बढीको बजेटमा बनेको फिल्मले आफूलाई घाटा ब्यहोर्न वाध्य नबनाउने उनको तर्क छ ।
तर, रामप्रसादले अगाडि भने–‘यसपटक म गर या मरको अवस्थामा आएको हुँ । फिल्म चलेन भने अब फिल्म नै बनाउँदिनँ । किनकी, मान्छेले एकपटक वा दुईपटक प्रयास गर्न सक्छ, तर बारम्बार प्रयास गरेर आफूलाई डुबाउन सक्दैन ।’
प्रतिक्रिया